काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठमा एकै घरभित्र दुई जनाको शव फेला परेको छ।
मृतकमा धादिङ बैरेनीकी २८ वर्षीया अञ्जना पाख्रिन (तामाङ) र भारतीय नागरिक परम नारायण गिल छन्। गिलले सञ्चालन गर्दै आएको प्रेसमा पाख्रिन कार्यरत थिइन्। उनीहरू बुढानीलकण्ठस्थित सुनिता सिंह ठकुरीको घरमा सँगै बस्दै आएका थिए।
प्रहरीका अनुसार पाख्रिन कोठाको सोफामा मृत भेटिएकी थिइन् भने गिल भुईँमा मृत फेला परेका हुन् । पाख्रिनको टाउकोमा चोट देखिएको छ तर गिलको शरीरमा चोटपटक छैन। काठमाडौँ प्रहरी परिसरका एसपी अपिल बोहोराले घटनालाई शङ्कास्पद भन्दै अनुसन्धान भइरहेको जानकारी दिए। शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पठाइएको छ।
हत्या वा आत्महत्या भन्ने यकिन नभए पनि घटनाको स्वरूप र सम्बन्धलाई मध्यनजर गर्दै प्रहरीले विभिन्न पक्षबाट अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया