पोखराको कोटीहोममा करोडौं उठ्यो, खर्च सार्वजनिक गर्न आग्रह

आइतबार, ०१ असार २०८२

पोखरा । पोखरामा आयोजित शतकुण्डीय ‘गायत्री कोटीहोम विराट ज्ञानमहायज्ञ’ शनिबार सम्पन्न भएको छ। महायज्ञको समापनसँगै मूल आयोजक समितिका सहसंयोजक गंगाधर पराजुलीले संकलित रकम र स्रोत पारदर्शी तरिकाले सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।

महायज्ञमा हालसम्म करिब १० करोड रुपैयाँ नगद संकलन भएको र पोखरा लगायतका क्षेत्रबाट झण्डै ४० रोपनी जग्गा दान स्वरूप प्राप्त भएको आयोजकको दाबी छ। यस्तै, जिन्सी सामग्रीको रूपमा पनि ठूलो सहयोग प्राप्त भएको छ। पराजुलीले यस्ता महत्वपूर्ण योगदानहरूको अभिलेखीकरण र दीर्घकालीन संरक्षण गर्न आग्रह गरेका छन्।

उनका अनुसार महायज्ञ भएको स्थलको संरक्षण गर्नु भावी पुस्ताका लागि ऐतिहासिक सम्पदा सुरक्षित गर्ने महत्वपूर्ण कदम हुनेछ। साथै उनले महायज्ञको नाममा संकलित रकममा कुनै पनि प्रकारको दुरुपयोग नहोस् भन्ने सुनिश्चितता दिन आवश्यक रहेको बताएका छन्।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्ण मुर्तीले महायज्ञबाट संकलित रकम पहिल्यै घोषणा गरिएका सामाजिक कार्यहरूमा खर्च गरिने बताएका छन्। ती कार्यमा अनाथ बालबालिकाको आश्रम निर्माण, धार्मिक स्थलहरूको संरक्षण, मठमन्दिरको पुनःनिर्माण जस्ता योजना छन्। केही दाताहरूको प्रतिबद्धता अनुसार रकम संकलन अझै बाँकी रहेकोले सम्पूर्ण आम्दानी–खर्च विवरण असार महिनाभित्र सार्वजनिक गरिने उनले स्पष्ट पारे।

महायज्ञमा देशभरका धार्मिक श्रद्धालु, भक्तजन, धर्मगुरु र प्रवचनकर्ता सहभागी भएका थिए। आयोजकका अनुसार करिब ३० लाखभन्दा बढी भक्तजनको सहभागिता रह्यो। यति ठूलो संख्यामा मानिसको उपस्थिति हुनु महायज्ञको सफलता मात्र नभई धार्मिक चेतनाको वृद्धि भएको प्रमाण भएको पराजुलीले बताए।

महायज्ञ अवधिभर भजनकृतन, प्रवचन, कथावाचन, प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिएका थिए। समापनका दिन कथावाचिका भागवत मञ्जरी राधिका दासीलाई विशेष सम्मानसहित बिदाइ गरियो। साथै महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्तित्व र संघसंस्थालाई सम्मान गरिएको थियो।

पोखरामा सम्पन्न यो धार्मिक आयोजनाले धार्मिक जागरणसँगै सामाजिक ऐक्यबद्धता र स्थानीय सहयोगको सशक्त उदाहरण पेश गरेको आयोजकहरूको भनाइ छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार