सुनसरीमा पानी अभावले धानको ब्याड सुक्न थाल्यो

सोमबार, ३० असार २०८२

धरान (सुनसरी) : समयमै वर्षा नहुँदा सुनसरी जिल्लाका विभिन्न स्थानीय तहका किसानले लगाएको धानको ब्याड सुक्न थालेको छ ।

असारको अन्त्यतिर पुग्दा पनि पर्याप्त पानी नपर्नु र सिँचाइको वैकल्पिक व्यवस्था नभएको कारण धान रोप्नै मुस्किल भएको किसानहरूको गुनासो छ ।

बराहक्षेत्र नगरपालिका–६ को श्रीलङ्का टापु, चिलैया र गरैया क्षेत्रका किसानहरू आकाशे पानीको भरमा रहेका छन् ।

स्थानीय किसान सन्तोष चन्द्रवंशी भन्छन्,“यो वर्ष पनि पानी पर्ने आशा त थियो, तर झन् हाम्रा रोपेका बिरुवाहरू नै सुक्न थाले । हामी हरेक दिन आकाश हेरिरहेका छौँ, तर केही फाइदा छैन ।”

विद्युत् लाइन नपुगेका क्षेत्रमा पम्पसेट प्रयोग गरेर सिँचाइ गर्न नसकिएको किसानहरूको भनाइ छ ।

यद्यपि नगरपालिकाले श्रीलङ्का टापुका किसानलाई ४३ थान मोटर,६० थान पाइप र १५५ थान त्रिपाल वितरण गरिसकेको भए पनि त्यो पर्याप्त नपुगेको देखिएको छ ।

रामधुनीका किसान रामभुवन रायले दुई बिघा खेतमा रोपाइँ गर्दै आएको तर हालसम्म आधा खेत पनि रोप्न नसकेको बताए ।

“यदि चाँडै समाधान भएन भने,यसपालि धानको बाली नै गुम्ने डर छ,”उनले भने ।

कोशी गाउँपालिका–७ की सरस्वती मियाँले जेठमै ब्याड तयार गरेकी थिइन्, तर हाल ती ब्याड सुक्न थालेको बताइन् ।

धरान उपमहानगर–६ का बुद्धिमान तामाङले भने, “पोहोर साल यही समयमा रोपाइँ सकिएको थियो, यसपालि त तीन भागमा एक भाग पनि रोपिएको छैन । कुलोमै पानी छैन ।”

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निल कमल सिंहका अनुसार, जिल्लामा करिब ४८ हजार ९ हेक्टर क्षेत्रमा धान खेती हुने गरेकामा हालसम्म जम्मा ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यो अवधिसम्म ५० प्रतिशत रोपाइँ भइसकेको थियो ।

किसानहरू अहिले सिँचाइको तत्काल व्यवस्था, मल, बिउ र कृषि उपकरणमा अनुदानको माग गरिरहेका छन् । निजी स्रोतबाट सिँचाइको प्रयास गरे पनि सबै किसानका लागि त्यो सम्भव नभएको भन्दै उनीहरूले सरकारी राहत र हस्तक्षेपको माग गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार