दुहबीमा ‘सेफ्टी ट्यांकी’भित्र भेटिएका ठेकेदार र कामदारको शव धरान पठाइयो

बुधबार, २८ साउन २०८२

विराटनगर : सुनसरीको दुहबीमा निर्माणाधीन घरको ‘सेफ्टी ट्यांकी’भित्र मृत भेटिएका ठेकेदार र कामदारको शवलाई पोस्टमार्टमका लागि धरान लगिएको छ।

बुधबार बिहान करिब १० बजे दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको ‘सेफ्टी ट्यांकी’भित्र दुहबी–२ का अन्दाजी ५० वर्षीय पेटी ठेकेदार श्यामबहादुर तामाङ र ३२ वर्षीय कामदार रमेश राई मृत फेला परेका थिए।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनीहरूको शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोस्टमार्टमका लागि पठाइएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरूको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको भए पनि घटनाको कारण पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीको अनुमान अनुसार ‘सेफ्टी ट्यांकी’मा काम गर्ने क्रममा अक्सिजन अभावका कारण मृत्यु हुनसक्ने देखिन्छ। तर, एकै ठाउँमा दुई जनाको शव भेटिएकाले हत्या वा अन्य कारणको सम्भावनाबारे पनि विस्तृत अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए।

घटनास्थल इलाका प्रहरी कार्यालय दुहबीबाट करिब २ किलोमिटर पूर्वमा पर्छ। घटनाबारे अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोली समेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार