धरान : धरानमा यही साउन ३१ गते शनिबार पेडलर्स धरानको आयोजनामा ‘कोरा राइड’ साइक्लिङ च्यालेन्ज हुने भएको छ।
नेपालमा सन् २०११ मा काठमाडौंबाट सुरु भएको ‘कोरा राइड’ धार्मिक तथा पर्यटकीय स्थलहरू समेट्दै च्यारिटी राइडका रूपमा हुँदै आएको छ। पेडलर्स धरानका अध्यक्ष किसन मास्केले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिँदै यस वर्षको राइड ३२ किलोमिटर दुरीमा सम्पन्न हुने बताए। उनका अनुसार नेपालका विभिन्न ठाउँका दुई सयभन्दा बढी राइडर्स यसमा सहभागी हुनेछन्।
शनिबार बिहान ७ बजे धरानको भानुचोकबाट सुरु हुने राइड पुतलिलाइन, दुर्गा चोक, कल्याण चोक, आपँगाछी चोक, जानकी चोक, फुस्रे, अमरहाट, बिजयपुर चोक, बुढासुब्बा मन्दिर, पिण्डेश्वरी मन्दिर, निराजन बस्ती, देउराली, पानबारी, नयाँ बस पार्क, बौद्ध दाह संस्कार स्थल, हयिाली चोक हुँदै धरान–१७ स्थित साकेला पार्कमा पुगेर समापन हुने छ।
कोरा राइडमा सुनसरीसहित झापा र मोरङका साइक्लिष्टहरू समेत सहभागी हुने आयोजकले जनाएको छ। धरानको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष साउन महिनामा यो कार्यक्रम हुने गरेको संयोजक विजय श्रेष्ठले बताए। धरानमा यो प्रतियोगिता सन् २०१७ देखि नियमित रूपमा आयोजना हुँदै आएको उनले स्मरण गरे।
प्रतिक्रिया