पासिकोट घटना: विवाहेत्तर सम्बन्ध नै हत्या र आत्महत्याको कारण !

सोमबार, ०२ असार २०८२

काठमाडौं : धादिङको गल्छी गाउँपालिका–६ घर भएकी २८ वर्षीया अञ्जना तामाङ भारतको चन्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल बसेको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित घरमा नियमित रूपमा काम गर्न जान्थिन् ।

अञ्जना दुई छोरीसहित काठमाडौंमा बस्दै आएकी थिइन् । वैदेशिक रोजगारीबाट नेपाल आएका अञ्जनाका श्रीमान् भने ३ दिनअघि मात्रै पुनः वैदेशिक रोजगारीमा गएका थिए ।

दुई छोरीको जिम्मेवारी बहन गर्दै आएकी अञ्जना शुक्रबार साँझसम्म पनि डेरामा नफर्केपछि आफन्तले फोन गरे । तर, सम्पर्क हुन सकेन । त्यसपछि उनका आफन्त उनी काम गर्ने घरमा पुगे, साँझ ६ बजेतिर ।

आफन्तहरू पुग्दा उनले काम गर्ने घरमा बत्ती बलिरहेको थियो । उनीहरूले अञ्जनालाई बोलाए पनि भित्रबाट कुनै प्रतिक्रिया आएन ।

सुनेनन् कि भनेर उनीहरू ढोका ढकढक गरिरहे । तर पनि भित्रबाट कुनै जवाफ आएन । भित्रबाट ढोका ‘लक’ भएको थाहा पाएपछि उनीहरूले कुनै अप्रिय घटना भयो कि भनेर लखसमेत काटे । त्यसपछि अञ्जनाका आफन्तले ’ स्थानीयलाई बोलाए ।

स्थानीयले पनि ठूलो स्वरमा बोलाउँदा भित्रबाट कुनै जवाफ नआएपछि प्रहरीलाई खबर गरियो । प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग बूढानीलकण्ठसमेतको टोली लगत्तै घटनास्थल पुग्यो ।

प्रहरीले ढोका फोडेर हेर्दा जे नहुनुपर्ने थियो, त्यही घटना स्थानीय बासिन्दा र अञ्जनाका आफन्तले देखे । अर्थात् भित्र अञ्जना र परमनारायणको शव थियो ।

अञ्जनाको शव दोस्रो तलाको कोठाको सोफामा भेटिएको थियो । सोफामा बसिरहेका बेलामा कुनै वस्तु टाउकामा प्रहार गरेर हत्या गरेजस्तो देखिएको अवस्थामा उनको शव फेला परेको थियो ।

परमनारायणको शव भने अञ्जना मृत भेटिएको सोफानजिकै भुइँमा भेटिएको थियो ।

हत्यापछि आत्महत्याको आशंका

भित्रबाट लक भएको सो घरमा दुई व्यक्ति नै मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । यति मात्र होइन ढोका बाहिरबाट समेत ताला लगाइएको थियो ।

अनुसन्धानमा जुटेका प्रहरीका अनुसार एउटा ढोकामा बाहिरबाट चाबी लगाएर अर्को ढोका अथवा झ्यालबाट परमनारायण भित्र प्रवेश गरेको हुनसक्ने प्रहरीको आँकलन छ ।

अहिलेसम्मको अनुसन्धानबाट परमनारायणले अञ्जनाको हत्या गरेपछि आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ । अञ्जनाको टाउकाको दाहिने भागमा चोट देखिएको छ । ह्याम्मरजस्तै धार नभएको हतियार प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै, घटनास्थलमा तीनवटा किटनाशक विषादीका बट्टा पनि भेटिएको छ । जसमध्ये दुईवटा बट्टा खाली थियो । तीनवटा विषका बट्टा भेटिनु र दुईवटा खाली हुनुले अञ्जनाको हत्यापछि परमनारायणले विष सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘परमनारायणले लगाएको कपडाको खल्तीमा समेत ढोकाको चाबी भेटिएको थियो । यसले के देखिन्छ भने उनी बाहिरबाट चाबी लगाएर पछाडिको ढोका वा झ्यालबाट भित्र छिरे अनि मूलढोकामा पनि भित्रबाट बन्द गरे । त्यसपछि माथि गएर अञ्जनाको हत्या गरे अनि आफूले पनि आत्महत्या गरे ।’

बाहिर रहेको सीसी क्यामेराको फुटेज विश्लेषण गर्दा पनि कोही शंकास्पद व्यक्तिको आउजाउ भएको नदेखिएकाले पनि प्रहरी यो निष्कर्षमा पुगेको हो ।

परमनारायणले सो घरमा चारवटा कुकुर पालेकामा एउटा कुकुर उनीहरूसँगै त्यही कोठामा मृत भेटिएको छ । कुकुरलाई पनि कुनै वस्तुले प्रहार गरेर हत्या गरेजस्तो देखिएको प्रहरीको भनाइ छ ।

परमनारायण करिब डेढ वर्षदेखि सो घरमा भाडामा बस्दै आएका थिए । पेसाले फोटोग्राफर उनले सोही घरमा एउटा अफिससमेत राखेर फोटाग्राफीको काम गर्दै आएका थिए । उनी विवाह, ब्रतबन्ध, पास्नीहरूको फोटो खिच्ने गर्थे ।

उनले भाडामा लिएको घर सुनिता सिंह ठकुरीको हो । घटना भएको घर र थ्री स्टार किडजोन स्कुल सँगै रहेको छ । अर्थात् एउटै कम्पाउन्डभित्र दुईवटा घर छन् ।

विवाहेत्तर सम्बन्धमा दरार आएपछि हत्याको आशंका

मृत भेटिएका दुवैजना विवाहित भएकाले विवाहेत्तर सम्बन्धमा दरार आउँदा सो घटना भएको हुनसक्ने पनि प्रहरीको विश्लेषण रहेको छ । परमनारायण आफैंले जागिर दिएर राखेकी अञ्जनासँग विवाहत्तेर सम्बन्धमा रहेको र त्यसमा दरार आएपछि यो घटना भएको हुनसक्ने एक अनुसन्धान अधिकारी बताउँछन् ।

सँगै काम गर्ने भएकाले उनीहरूबीच विवाहत्तेर सम्बन्ध रहेको देखिने केही क्लुहरूसमेत फेला परेको प्रहरीको भनाइ छ ।

परमनारायणकी श्रीमती फ्रान्समा र अञ्जनाका श्रीमान् वैदेशिक रोजगारीमा खाडी मुलुकमा बस्ने गरेको खुलेको छ । परमनारायणकी एक छोरीको विवाहसमेत भइसकेको छ ।

दुवैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार