६ लेन आयोजना : बुढीखोला र सेउति खोलाका दुई ठुला पुल असार मसान्तसम्म सम्पन्न हुने

शुक्रबार, ०६ असार २०८२

सुनसरी : धरान–विराटनगर ६ लेन सडक आयोजनामा संरचनागत उपलब्धि थपिँदै गएका छन्।

कोशी राजमार्गअन्तर्गत धरान–विराटनगर सडक खण्डमा पर्ने दुहबीस्थित बुढीखोला र धरान-तरहरा जोड्ने सेउति खोलामा निर्माणाधीन दुई महत्त्वपूर्ण पुल यही असार मसान्तसम्म सम्पन्न हुने पक्का भएको छ।

सुनसरी–मोरङ सिमानामा अवस्थित बुढीखोला र धराननजिकको सेउति खोलाका यी पुल ६ लेन आयोजनाका प्राविधिक दृष्टिले पनि अत्यन्त संवेदनशील र महत्त्वपूर्ण मानिन्छन्।

यी दुई संरचना निर्माण सम्पन्न भएसँगै आयोजनाको करिब ९० प्रतिशत काम पूरा हुने आयोजनाका इन्जिनियर शम्भु मोचीले जानकारी दिए। उनका अनुसार, बाँकी कामहरू पनि चाँडै सम्पन्न गर्ने योजना छ।

बुढीखोलाको पुलको निर्माणको जिम्मा सपना देव एन्ड सयर भूमि जेभीले लिएको थियो। २०७४ साल चैत १८ गते रु २३ करोड १७ लाख ९९ हजार ७ सय ९० मा सम्झौता भएको यो पुल करिब ८ वर्षपछि सम्पन्न हुन लागेको हो।

पुलको लम्बाइ ९३.५५ मिटर र चौडाइ ९.६ मिटर रहेको छ। हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर मोचीले बताए। उनका अनुसार, यो संरचना यही असार मसान्तसम्म पूर्ण रूपमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिनेछ।

त्यस्तै, सेउति खोलाको पुल २०७८ साल असार १० गते निर्माण सम्झौता भएको हो। ४ करोड ९० लाख ४१ हजार ९ सय ६५ रुपैयाँ लागतमा हिराचन एएम–एचएम जेभीले निर्माणको जिम्मा लिएको हो।

यो पुल ४८ मिटर लम्बाइ र ११ मिटर चौडाइको छ। आयोजनाका अनुसार हालसम्म पुलको ९३ प्रतिशत काम सकिएको छ र असार ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य छ।

 छ लेन सडक निर्माणको सिलसिलामा विभिन्न स्थानमा चार लेन तथा दुई वटा सेवा लेनसहितका खण्डहरू विस्तार भइरहेका छन्। स्थानीय यातायात सहज बनाउनुका साथै कोशी प्रदेशका प्रमुख सहर बिचको आवागमनलाई सुरक्षित, द्रुत र दिगो बनाउने उद्देश्यका साथ अघि बढाइएको आयोजनामा यी पुलहरूको निर्माणले नयाँ ऊर्जा थप्नेछ।

समग्रमा हेर्दा, पूर्वी नेपालका लागि गौरवको परियोजनाको रूपमा लिइएको ६ लेन सडक आयोजनामा यी दुई पुलको निर्माण सम्पन्न हुनु केवल एक संरचनाको अन्त्य नभएर समग्र पूर्वाधार निर्माणको दिशामा ठोस प्रगति हो। स्थानीयवासी, व्यवसायी र यात्रुका लागि समेत यस्ता संरचनाको समयमै सम्पन्न हुनुले दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ।

रानी-विराटनगरहुँदै धरान तीनकुनेसम्मको ४४.२७ किलोमिटर लामो  ६ लेन सडक योजना १६ ओटा निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता गरेर अघि बढाइएको थियो।  हालसम्म जम्मा ३२.८४ किलोमिटर मात्रै सडक निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार