उनले सार्वजनिक गरेको उपलब्धिमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता वृद्धिका लागि तालिम प्रदान गरिएको, प्रदेशका १५ वटा स्थानीय तहको अद्यावधिक योजना निर्माणलाई अगाडि बढाएको, प्रदेशसभाबाट २ वटा विधेयक पास भएको, ४ वटा विधेयकलाई प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको तथा ४ वटा नियमावली स्वीकृत भएको एवं प्रदेश सरकारको नियमावली तथा कार्यविधि, निर्देशिका बनेको उल्लेख छ ।
व्यावसायिक हिसाबले दूध उत्पादन गर्ने १६ हजार ९५ जना किसानलाई प्रति लिटर २ रुपैयाँका दरले १ करोड १७ लाख अनुदान दिएको, किसानलाई ४०७ मेट्रिक टन प्राङ्गरिक मल उपलब्ध गराएको, ४६८ वटा बोयर जातका बाख्रा वितरण गरेको भनेर कार्कीले सरकारले उपलब्धिमा समेटेका छन् । उनका अनुसार ७५० हेक्टर जमिनमा सिँचाई सेवा पुर्याएको करिब ६० वटा नदी नियन्त्रण योजना बनाइएको, साना सिँचाई कार्यक्रममार्फत क्रमगत करिब ५० वटा योजना सम्पन्न गरिएको, प्रदेशभरमा १५ वटा खानेपानी आयोजना सम्पन्न गरेको र प्रदेशभित्रका करिब २५ हजार नागरिकलाई पर्याप्त तथा शुद्ध खानेपानीको सुविधा पुर्याइएको छ ।
त्यस्तै सय दिनभित्रमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनका क्रममा मृत्यु भएका प्रदेशका १ हजार ४५० जनाको परिवारलाई प्रति परिवार १ लाखका दरले १४ करोड ५० लाख सहयोग गरिएको उनको भनाइ छ । ८ लाख ३० हजार ६१० जनालाई कोरोनाको बुस्टर डोज लगाइएको, प्रदेशभित्र ११६ किलोमिटर सडक कालोपत्रे गरिएको, ३ वटा झोलुङ्गे पुल निर्माण गरिएको र १५ वटाको निर्माण अन्तिम चरणमा पुगेको मुख्यमन्त्री कार्कीले बताए । उनका अनुसार कोसी प्रदेश समन्वय परिषद्लाई पूर्णता दिइएको र सरकारको सेवा प्रवाह एवं विकास व्यवस्थापन सम्बन्धी स्थिति पत्र २०७९ तर्जुमा गरिएको छ ।
कार्कीले ९० वटा सामुदायिक वन तथा ३३ वटा कबुलियती वनको कार्य योजना नवीकरण भएको विषयलाई पनि उपलब्धिका रूपमा सार्वजनिक गरेका छन् । उनका अनुसार प्रदेशमा समग्र कृषि क्षेत्रको व्यवस्थित र योजनाबद्ध विकासका लागि १० बर्से योजनासहित २० बर्से कृषि विकास रणनीतिको मस्यौदालाई अन्तिम रूप दिने कार्य पनि भइरहेको छ ।
प्रतिक्रिया