इटहरी : किशोर–किशोरीहरूमा सूचना प्रविधिको ज्ञान अभिवृद्धि गर्दै सुरक्षित डिजिटल नागरिक बनाउने उद्देश्यले इटहरीका सामुदायिक विद्यालयहरूमा सूचना प्रविधिसम्बन्धी बृहत् तालिम अभियान सुरु गरिएको छ। काफल्स मल्टिपर्पोज कम्पनी प्रा.लि.को आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा सञ्चालित यस अभियानको पहिलो कार्यक्रम शारदा माध्यमिक विद्यालय, खनारमा सम्पन्न भएको छ।
इटहरी उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष भुवनराज पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा करिब ७० जना विद्यार्थी तथा शिक्षकहरू सहभागी थिए। कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले तालिमको प्रभावकारिताको प्रशंसा गर्नुभयो र यस्ता कार्यक्रम सामुदायिक विद्यालयमा मात्र नभई निजी विद्यालयहरूमा पनि अनिवार्य रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
तालिममा के-के सिकाइँदैछ?
आयोजकका अनुसार, यो तालिम केवल सामान्य कम्प्युटर ज्ञानमा सीमित छैन। यसले किशोर-किशोरीहरूले हरेक दिन प्रयोग गर्ने इन्टरनेट, सामाजिक सञ्जालदेखि साईबर अपराध र कृत्रिम बौद्धिकता जस्ता नवीनतम विषयहरूलाई सम्बोधन गरेको छ। तालिमका सहजकर्ता सन्तोष धमलाले सूचना प्रविधिको सुरक्षित प्रयोग, सम्भावित जोखिम र अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिएका थिए।
इटहरी उपमहानगरपालिका शिक्षा शाखाको समन्वयमा सुरु भएको यो तालिम अभियान इटहरीका अन्य सामुदायिक विद्यालयहरूमा पनि सञ्चालन हुनेछ। आयोजक काफल्स मल्टिपर्पोज कम्पनीका अनुसार श्री जनसहयोग मा.वि., श्री राष्ट्रिय मा.वि., श्री महेन्द्र मा.वि., श्री ज्योति मा.वि., श्री जनता मा.वि., र श्री सरस्वती सदन मा.वि. लगायतका विद्यालयहरूमा यो कार्यक्रम विस्तार गरिनेछ। यो अभियानले किशोर-किशोरीहरूमा डिजिटल साक्षरता बढाउनुका साथै उनीहरूलाई जिम्मेवार र सचेत डिजिटल प्रयोगकर्ता बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया