काठमाण्डौं : सडक सुरक्षाका लागि गृह मन्त्रालयले ओभरलोड मालबाहक सवारीसाधन नियन्त्रण र सडक क्षेत्रमा हुन सक्ने विपद् न्यूनीकरणका लागि कडा निर्देशन दिएको छ । बुधबार गृह मन्त्रालयमा आयोजित बैठकमा गृहमन्त्री रमेश लेखकले छिमेकी देशबाट नेपाल भित्रिने तथा देशभित्र चल्ने ओभरलोड मालवाहक ट्रकलाई पूर्ण रुपमा नियन्त्रणमा लिन निर्देशन दिएका हुन् ।
मन्त्री लेखकले देशभर रहेका तौलपुललाई दुरुस्त बनाई, भार क्षमता अनुसार मात्र सवारी सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रहरी प्रशासन तथा सरोकारवाला निकायलाई आग्रह गरे ।
वर्षा हुने पूर्वानुमान भएसँगै सम्बन्धित क्षेत्रका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा ट्राफिक प्रमुखलाई सतर्क रहन र आवश्यक निर्णय नलिए कारबाहीको चेतावनी समेत दिएका लेखकले जोखिमपूर्ण सडकमा सवारी रोकिने व्यवस्था गर्न र यात्रुहरुको ज्यान जोगाउने चालकलाई पुरस्कार तथा जबर्जस्ती सवारी चलाउनेलाई कारबाही गरिने समेत बताएका छन् ।
१७ बुँदे आचारसंहिता सार्वजनिक
बैठकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले तयार पारेको १७ बुँदे आचारसंहिता प्रस्तुत गरिएको थियो । आचारसंहितामा सवारी साधनको नियमित मर्मत, यात्रुहरुको विवरण राख्ने, क्षमता भन्दा बढी भार नबोक्ने, मादक पदार्थ प्रयोग नगर्ने, लैङ्गिक हिंसा प्रोत्साहित गर्ने सामग्री नबजाउने जस्ता प्रतिवद्धताहरु उल्लेख छन् ।
गृहमन्त्री लेखकले यो आचारसंहितालाई “अत्यन्तै सराहनीय“ भन्दै सबै यातायात मजदुर र व्यवसायीलाई तत्काल लागू गर्न आग्रह समेत गरे । गृह सचिव गोकर्णमणी दुवाडी, प्रहरी प्रमुख दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, यातायात मन्त्रालयका सचिव केशव शर्मा लगायत सरोकारवाला निकायका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया