झापामा हात्ती आतङ्क रोकिएन : १५ वर्षमा ७२ को मृत्यु, राहत वितरण ९ करोड नाघ्यो

शुक्रबार, १३ असार २०८२

बनियानी (झापा) : झापामा मानव–हात्ती द्वन्द्वले गम्भीर रूप लिएको छ। पछिल्ला १५ वर्षमा हात्तीको आक्रमणबाट ७२ जनाको ज्यान गएको छ भने ९२ जना घाइते भएका छन्। यस्तै,सो अवधिमा २५ वटा हात्ती पनि मृत फेला परेका छन्।

डिभिजन वन कार्यालय झापाका सूचना अनुसार सन् २०६७ देखि हालसम्म सात जना गैरनेपाली नागरिकको समेत ज्यान गएको छ। यस्तै,२०८१ सालको साउनदेखि हालसम्म पाँच जनाको मृत्यु र छ जना घाइते भएका छन्। औसतमा हरेक वर्ष पाँच जना मानिसले ज्यान गुमाइरहेको तथ्याङ्क छ।

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविकमार्ग (corridor) निर्माण, वन क्षेत्रभित्र पोखरी तथा फलफूलका बिरुवा रोपण र गस्ती जस्ता प्रयास भइरहेका छन्। तर, 'फरेष्ट एक्सन नेपाल'का डा. लिलानाथ शर्माका अनुसार केवल तारवारले मात्र समस्या समाधान गर्न सकिँदैन।

“हात्तीलाई रोक्न वन सुधार पनि अत्यावश्यक छ,” डा. शर्माले बताए। उहाँका अनुसार हात्तीको प्राकृतिक वासस्थानभित्रै खाद्य स्रोतको व्यवस्था, जैविक मार्ग निर्माण र हात्तीमैत्री वातावरण सिर्जना नगरी द्वन्द्व घटाउन सकिन्न।

डिभिजन वन कार्यालयका डा.सुमन भलका अनुसार मकै खेती हुने याममा भारतबाट समेत हात्तीको हुल आउने गरेको देखिएको छ। हात्तीले मकैलाई मन पराउने भएकाले यो बेला द्वन्द्वको जोखिम झन् बढ्ने गरेको छ। वन अतिक्रमण र मानव बस्तीको वन क्षेत्रतर्फको विस्तारले पनि समस्या झन्झन् चर्किएको छ।

झापामा २०६२ सालदेखि हालसम्म २५ वटा हात्ती मृत फेला परेका छन्। पहिले वर्षमा एक–दुई वटा हात्तीको मात्र मृत्यु हुने गरे पनि पछिल्ला वर्षहरूमा हात्ती मृत फेला पर्ने क्रम तीव्र बनेको छ।

२०८० साउनदेखि २०८१ असारसम्ममा मात्रै चार वटा हात्ती मृत भेटिए भने चालु आवमा पनि चार हात्तीको मृत्यु भइसकेको वन कार्यालयले जनाएको छ।

राहत रकम साढे नौ करोड

हात्तीपीडितहरूलाई सरकारले २०६८/६९ देखि हालसम्म कूल ९ करोड ६८ लाख ४७ हजार रुपैयाँ राहत प्रदान गरिसकेको छ।

ज्यान गुमाउनेका परिवारलाई जनही १० लाख, घाइतेलाई अधिकतम दुई लाख, चौपाया, अन्नबाली तथा भौतिक संरचनामा भएको क्षतिअनुसार राहत दिइएको छ।

यद्यपि, अहिले पनि ५२५ जना वन्यजन्तु पीडित राहतको पर्खाइमा छन्। मानव–हात्ती द्वन्द्वको दीर्घकालीन समाधानका लागि केवल तत्कालीन राहत पर्याप्त नभई समग्र वन प्रणाली सुधार र जैविक सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार