इटहरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–४ मा प्रहरीले खेतभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ धान खेतमा लुकाइएको अवस्थामा ७५ किलो गाँजा फेला पारेको हो।
इलाका प्रहरी कार्यालय सितागञ्ज र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले साँझ ६ बजेर २० मिनेटतिर शान्तिवन चोकदेखि करिब सय मिटर पूर्वतर्फको कच्ची सडक नजिकै चेकजाँच गरेको थियो।
सोही क्रममा धान खेतमा पानीले भिजेको अवस्थामा दुईवटा बोरामा प्याक गरी राखिएको गाँजा जस्तो देखिने पदार्थ भेटिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको छ। प्रहरीले उक्त गाँजा कसले राखेको हो भन्नेबारे अनुसन्धान थालिएको जनाएको छ।
प्रहरीका अनुसार बरामद भएको गाँजाको सम्बन्धमा संलग्न व्यक्तिहरू पहिचान गरी आवश्यक कानूनी कारबाही अगाडि बढाइनेछ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
प्रतिक्रिया