बुवाको सपना बोकेर सफलता लेखेकी 'गायत्री' : पूर्वी नेपालकी प्रेरणादायी पात्र

आइतबार, १५ असार २०८२

इटहरी : पूर्वी नेपालको उदाउँदो व्यापारिक केन्द्र इटहरी, जहाँ हरेक बिहान सवारी साधनका गडगडाहटले सहरलाई ब्युँझाउँछ । त्यहाँ एक महिला शान्त रूपमा आफ्नो जीवनको लयमा व्यस्त छिन्। 

धेरैका लागि इटहरी एक गन्तव्य हो । तर,गायत्री कटुवाल भण्डारीका लागि यो स्वप्नभूमि हो । जहाँ उनले आफ्ना बुवाको सपना थामेर आफैँलाई एक सफल उद्यमीको रूपमा उभ्याइन्। उनको कथा कुनै काल्पनिक नायिकाको होइन । जीवनको कठोर यथार्थसँग जुध्दै आफूलाई प्रमाणित गरेकी वास्तविक नारी पात्रको हो।

गायत्रीको जीवन आरम्भदेखि नै सामान्य थिएन। बि.स २०३२ सालको वैशाख १९ गते इटहरीमा जन्मिएकी उनी उद्यमशीलतासँगै हुर्किइन्। उनका पिता मेहरमान कटुवाल बर्माबाट नेपाल फर्किएपछि धरान हुँदै इटहरी झरेका थिए र त्यहीँ व्यापारिक यात्रा सुरु गरेका थिए। 

व्यापारको बाटोमा साथ दिइरहेकी श्रीमती रेखामायासँग मिलेर उनले गायत्री स्टोर नामक कपडा पसल स्थापना गरे । जुन नामले एउटा गहिरो आशय बोकेको थियो—‘छोरी सक्षम होस्।’

गायत्री सानैदेखि पारिवारिक पसलमा सहकार्य गर्थिन्। तर,त्यो सहकार्य अचानक टुट्यो,जब उनलाई १५ वर्षको उमेरमा भोजपुरका गोपाल भण्डारीसँग विवाह गरियो।

धेरैका लागि किशोरावस्थाको विवाह जीवनका सपनाको अवसान हो । तर,गायत्रीका लागि त्यो नयाँ अध्यायको थालनी थियो। सासू–ससुराको घरमा भित्रिँदा उनीसँग कुनै ठुलो योजना थिएन । तर,आत्मबल थियो । यही आत्मबलले उनले घरधन्दाको बिचमै व्यावसायिक संसारमा पाइला राखिन्।

२०४७ सालमा श्रीमानको साथमा किराना पसल सुरु गर्दा उनीसँग थोरै पुँजी थियो । २० हजार रुपैयाँ मात्र थियो । जुन उनका बुवाले दिएका थिए। पुँजी सानो थियो, तर सपना ठुलो। सुरुआत गरियो—चुपचाप, बिनावाद। व्यापार चल्दै गयो, परिवार बढ्दै गयो। तर,गायत्रीको आत्मा अझै केही खोज्दै थियो।

त्यही खोजको उत्तर थियो– २०५१ सालमा सुरु गरिएको नयाँ रेडिमेड गार्मेन्ट पसल, जसको नाम उनले आफ्ना दुई सन्तान गौरव र गुराँसको नामबाट राखिन्—‘जी फोर कलेक्सन’ ।

आज यो पसल केवल कपडा किन्ने ठाउँ होइन ।पूर्वी नेपालका फेसन प्रेमीहरूका लागि एउटा गन्तव्य बनेको छ। उनी व्यवसायमा मात्र सफल भइनन्,एक प्रेरक नेतृत्वकर्ताका रूपमा पनि उदाइन्।

गौरवको कथा यो प्रेरणादायी यात्रामा अर्को महत्त्वपूर्ण अध्याय हो। अमेरिकाको ग्रीन कार्ड होल्डर भएका गौरवले विदेशको मोह त्यागेर आमाको साथ रोजे। आज उनी गायत्रीसँगै व्यवसायमा सहभागी छन्। आमाको सपना उनले आफ्नो उत्तराधिकार बनाएका छन्। 

यो केवल माता पुत्र सम्बन्धको उदाहरण होइन । यो व्यवसायमा पुस्तान्तरण र भावनात्मक लगानीको ज्वलन्त प्रतीक हो। त्यतिमात्र होइन—गायत्रीका पूर्वकर्मचारीमध्ये २५ जना महिलाहरू अहिले आफैँ रेडिमेड व्यवसायमा स्वरोजगार बनेका छन्। उनको उद्यमले महिलाहरूमा आत्मनिर्भरता र आत्मविश्वासको भावना भरेको छ। 

कुनै बेला उनका सहकर्मी रहेका ती महिलाहरू आज गायत्रीलाई मार्गदर्शकको रूपमा सम्मान गर्छन्। गायत्री अहिले पनि दिनभर सामाजिक कार्यमा सक्रिय रहन्छिन् । तर,बिहान र बेलुकाको समय भने आफ्नो पसललाई नै छुट्टाउने गरेकी छिन्। 

बिहान पसल निस्किँदा मुस्कानसहित निस्कने उनी बेलुका फर्किँदा पनि त्यही उत्साह र मुस्कानका साथ पसल प्रवेश गर्छिन्। उनको यस्तो आत्मीय व्यवहारले गर्दा स्टाफहरू उनलाई मालिक होइन । आफ्नै साथीजस्तै महसुस गर्छन्।

गायत्रीको यात्रा केवल पसलसम्म सीमित रहेन। उनले इटहरी उद्योग वाणिज्य सङ्घमा एक कार्यकाल कार्यसमिति सदस्य भइन्। पछि सङ्घको कोषाध्यक्ष पदमा पनि रहिन्।

तर,२०८० सालमा जब उनले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिन्,त्यो केवल चुनावी घोषणा थिएन । त्यो एक सामाजिक क्रान्तिको सुरुवात थियो। यद्यपि, उनले त्यो पद जितिनन् । तर, उनी महिला नेतृत्व क्षमताको एक बलियो सन्देश दिन सफल भइन्। उनले देखाइन्, ‘नेतृत्वको हक महिलाले पनि राख्छन् ।’  

गायत्री रेडिमेड व्यवसायी सङ्घ इटहरीकी संस्थापक अध्यक्ष समेत हुन्। उक्त सङ्घमार्फत इटहरीका सम्पूर्ण रेडिमेड व्यवसायीहरूलाई एउटै छाता (माला) मुनि ल्याउने प्रयास सुरु गर्दै उनले त्यसमा सफलता पनि हासिल गरेकी थिइन । 

गायत्री ८ छोरीमध्ये जेठी हुन्। समाजले छोरा नहुनु समस्या ठानेर कम उमेरमै उनको विवाह गरिदियो । तर,उनी त्यो निर्णयलाई नियतिको रूपमा मात्र राखेर बसिनन्। बरु उनले आफ्नो जीवनलाई समाजको रूढ धारणाविरुद्ध एउटा उत्तर जीवित सन्देश बनाइन्। उनका दिदीबहिनीहरू बिदेसिएका छन् । उनी यहीँ इटहरीमा रहेर आफ्नै माटोमा आफ्नो पहिचान निर्माण गरिरहेकी छन्।

आज गायत्री कटुवाल भण्डारीको नाम इटहरीमा एउटा ब्रान्ड बनेको छ। गायत्री स्टोरबाट सुरु भएको यात्रा ‘जी फोर कलेक्सन’को माध्यमबाट एक प्रेरणादायी उद्यमशीलता यात्रामा परिणत भएको छ। उनी अब केवल व्यापारी होइनन् । आत्मनिर्भरता,परिवारको प्रतिबद्धता र महिला सशक्तीकरणको नाम बनेकी छन्।

उनको कथाले समाजलाई एउटा अमूल्य पाठ दिन्छ,‘सपना पूरा गर्न कुनै चमत्कारी पलको आवश्यकता पर्दैन । बरु निरन्तर सङ्घर्ष,आत्मबल र साँचो समर्थनले पनि चमत्कार सम्भव हुन्छ।’ गायत्री कटुवाल भण्डारीको यात्रा एउटा प्रस्ट सन्देश हो,‘छोरीलाई ‘बोझ’ होइन, सम्भावनाको ‘बिउ’ मान्दा उनीहरूले मात्रै होइन,सम्पूर्ण समाजले जित्छ।’

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार