कप्तान सावित्रा : दक्षिण एसियाकी उत्कृष्ट फरवार्डबाट नेपाली टोलीको नेतृत्वसम्म

सोमबार, १६ असार २०८२

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तानको जिम्मेवारी सावित्रा भण्डारी ‘साम्बा’लाई दिइएको छ । स्टार फरवार्ड साम्बाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको १००औं खेलबाट टोलीको कप्तानी गरेकी छन् ।

नेपाली राष्ट्रिय टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले आइतबार एएफसी एसियनकप छनोटअन्तर्गत लाओससँगको खेलअघि सावित्रालाई यो जिम्मेवारी सुम्पिँदै पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । यससँगै सावित्रा नेपाली महिला टिमको इतिहासमा कप्तानी सम्हाल्ने ११औं खेलाडी बनेकी छन् ।

उनको कप्तानीलाई लिएर एन्फाले आइतबार लेखेको छ, ‘सावित्रा भण्डारीलाई राष्ट्रिय महिला टोलीको कप्तान नियुक्त गरिएको छ, उनले मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डबाट आर्मब्यान्ड प्राप्त गरेकी छन् र लाओसविरुद्ध टोलीलाई टनेलमा नेतृत्व गर्नेछिन् ।’

नेपाली टोलीलाई पहिलोपटक विदेशी प्रशिक्षकले सम्हालेकाले कप्तानको जिम्मेवारी कसले पाउँछ भन्ने चर्चाको विषय बनेको थियो । कप्तानको चर्चामा रेनुका नगरकोटी, सावित्रा भण्डारी ‘साम्बा’, अनिता बस्नेतसहितका खेलाडी थिए । उनीहरू सबैलाई पछि पार्दै साम्बा पहिलोपटक कप्तान चयन भएकी हुन् । यसअघि कप्तानको भूमिकामा एञ्जिला तुम्बापो सुब्बा थिइन् । उनी ६ वर्षपछि कप्तानको भूमिकाबाट बाहिरिएकी छन् ।

नियमित कप्तान रेनुका नगरकोटी चीनमा आयोजना भएको १९औं एसियन गेम्सको अभ्यासक्रममा घाइते भएपछि तत्कालीन प्रशिक्षक कुमार थापाले एञ्जिला तुम्बापो सुब्बालाई कप्तानको जिम्मेवारी दिएका थिए ।

एन्जिलाले सन् २०१९ देखि नेपाली टोली सम्हाल्दै आएकी थिइन् । निवर्तमान कप्तान तुम्बापो सुब्बा भने लाओसविरुद्ध पहिलो रोजाइमा समेत परेकी छैनन् ।

लाओसविरुद्ध खेल्ने नेपालको सुरुआती–११ मा यसअघि नियमित कप्तान रहेकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले स्थान बनाउन सकिनन् । उनको स्थानमा अञ्जना पहिलो रोजाइमा परेकी छन् ।

एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । सो समूहमा आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले दोस्रो खेलमा १८ असारमा श्रीलंका र २१ असारमा घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहनसके नेपाली महिला टोली एसियनकपका लागि छनोट हुनेछ ।

एसियन कप छनोटअन्तर्गतको पहिलो खेल नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि ऐतिहासिक १००औं खेल हो ।

यसअघि रमा सिंहले सन् १९८६ देखि १९८७ सम्म नेपालको पहिलो कप्तानी जिम्मेवारी सम्हालेकी थिइन् । उनीपछि सन् १९९० मा कमला हिराचन, १९९९ मा मीरा चौधरी, सन् २०१० देखि २०१२ सम्म जमुना गुरुङ, २०१३ मा चन्द्रा भण्डारी, २०१६ मा अनु लामा, २०१७ मा सजना राना मगर, २०१७ मा रेनुका नगरकोटी, २०१८ मा निरू थापा नेपाली टोलीको कप्तान बनेका थिए ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा चार दशक

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको झन्डै ४ दशक भइसकेको छ । महिला टोलीले १४ डिसेम्बर १९८६ मा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

एसियन च्याम्पियनसिपमा हङकङविरुद्ध खेल्दै महिला टोलीले फुटबलको अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो । नेपाली पुरुष टोलीले औपचारिक अन्तर्राष्ट्रिय खेल खेलेको ४ वर्षपछि मात्रै महिला टोलीले फुटबलको अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो ।

महिला टोलीले आइतबारको लाओसविरुद्धको खेलबाहेक यस अवधिमा ९९ खेल खेलेकामा ४६ मा जित, १६ मा बराबरी र ३७ मा हार बेहोरेको छ ।

चार दशकको यात्रामा आइतबारसम्म १०० खेल मात्र खेलेको नेपाली थियो । तेस्रो खेल खेल्न त एक दशक नै कुर्नुपरेको थियो । सन् १९९९ मा भएको तेस्रो खेलमा नेपालले जापान, थाइल्यान्ड, उज्वेकिस्तान र फिलिपिन्ससँग खेलेको थियो । तर, जित निकाल्न सकेको थिए ।

चौथो अन्तर्राष्ट्रिय खेल खेल्न ११ वर्ष लामो प्रतीक्षा गर्नुपरेको थियो । सन् २०१० मा ११औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुदमार्फत महिला टोलीले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको थियो । महिला टोलीले ११औं साग र सोही वर्ष महिला साफ च्याम्पियनसिप पनि खेलेको थियो ।

ती दुवै प्रतियोगिताको फाइनलमा पुगेपछि नेपाली महिला टोलीले सम्भावनाको ढोका खोलेको थियो । त्यसयता महिला टोलीले निरन्तरजस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ । ११औं सागयता महिला टोलीले १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको थियो । तर, सबै फाइनलमा नेपाली टोली पराजित भएको थियो ।

को हुन् साम्बा ?
एपीएफ फुटबल क्लबमा आबद्ध साम्बा सन् २०१४ मा भारतमा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

साम्बाले ५७ खेलमा ५६ गोल गरिसकेकी छन् । साम्बा युरोपियन लिग खेल्ने नेपालको पहिलो महिला खेलाडी हुन् ।

दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्डको परिचय बनाएकी साम्बा इजरायलको हापोयल रानानामा अनुबन्ध भएपछि युरोपियन लिग खेल्ने पहिलो महिला खेलाडी बनेकी थिइन् । इजरायलपछि साम्बा फ्रान्सको एन अभान्ट गुएङग्याम्पमा आबद्ध भएकी थिइन् ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार