इटहरी । कर्तव्य ज्यान मुद्दामा २४ वर्ष ८ महिना १५ दिन कैद सजाय पाएका सुनसरीका पप्पु यादवलाई प्रहरीले इनरुवाबाट पक्राउ गरेको छ।
भोक्राहा नरसिंह गाउँपालिका–७ निवासी त्रिभुवन यादवका छोरा २५ वर्षीय पप्पु सिंह उर्फ पप्पु यादवलाई सुनसरी जिल्ला अदालतले २०८१ साल भदौ २५ गते दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। अदालतको लगत नम्बर ४५९४ मा दर्ता रहेको सो मुद्दामा फैसला भएपछि यादव फरार रहँदै आएका थिए।
लामो समयदेखि फरार रहेका यादवलाई प्रहरीले गोप्य सूचनाको आधारमा २०८२ असार १७ गते इनरुवा नगरपालिका–३ स्थित सडकमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाईबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेपछि सोही दिन जिल्ला अदालत सुनसरीमा पेस गरिएकामा अदालतले चलानी नम्बर ०८१–२६–०१४५६९ अनुसार आदेश जारी गर्दै यादवलाई झुम्का कारागार चलान गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सजाय पाएका तर फरार रहेका अभियुक्तहरूको खोजी तथा नियन्त्रण अभियान निरन्तर चलिरहेको छ।
प्रतिक्रिया