काठमाडौँ । ०७९ को निर्वाचनमा शेरबहादुर देउवासँग निर्वाचन लडेर चर्चामा आएको सागर ढकाल आगामी कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाच्नमा लड्ने तयारीमा जुटेका छन् ।
उनी यति वेला रास्वपाका नेताहरूसँग नियमित सम्पर्कमा छन् । ढकाल आफैँले अब हुने रुपन्देहीको उपनिर्वाचनमा उम्मेदवार बन्ने सङ्केत गरेका छन् । हिजो (मङ्गलवार) उनले रास्वपाका नेताहरूसँग भेटेको तस्बिर समेत सार्वजनिक गरेका छन् । डडेलधुरामा उनी स्वतन्त्र उम्मेदवार थिए । उनले १३ हजार ४२ मत पाएका थिए । देउवाले भने भने २५ हजार ५ सय ३४ मत प्राप्त गरेका थिए । उनीहरूबिच १२ हजारको मतान्तर थियो ।
अहिले रुपन्देही–३ मा उपनिर्वाचनको मिति तोकिएसँगै ढकालले सोही क्षेत्रबाट आफूले प्रतिस्पर्धा गर्ने सङ्केत गरेका छन् । उनले रुपन्देही ३ मा नेपालको इतिहास रच्न तयार हुनुहुन्छ भन्दै जनतालाई प्रश्न गरेका छन् । रास्वपाले भने उनलाई टिकट दिने वा नदिने भन्नेबारे अहिलेसम्म केही खुलासा गरेको छैन । रास्वपाका सभापति रवि लामिछाने यति वेला हिरासतमा छन् ।
ढकालले टिकट पाउने वा नपाउने भन्ने विषय लामिछानेसँग उनीनिकट नेताहरूले गर्ने सल्लाहपछि लिइने निर्णयमा भर पर्छ । रुपन्देही–३ को उपनिर्वाचनमा कांग्रेस र एमालेले हेभिवेट उठाउने तयारी गरेका छन् । काँग्रेसले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र एमालेले खिमलाल भट्टराईलाई टिकट दिने चर्चा छ । यद्धपी कांग्रेस र एमाले दुवै दलका नेतृत्व अहिलेसम्म कसलाई अघि बढाउने भन्ने विषयमा निर्णयमा पुगेका छैनन् ।
सागर ढकालले भने अहिलेदेखि नै रुपन्देहीमा ६२ हजार मत ल्याएर इतिहास रच्नुपर्ने भनेका छन् । उनले फेसबुकमा लेखेका छन्–रुपन्देही ३ – नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ?
चितवन २ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत। अब रुपन्देही ३ मा करिब ९०,००० मत छन् त्यसमा तपाइ हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ। काँग्रेस एमाले माओवादि एउटै हुन् यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ। जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यो ३ पार्टीको घेरा बेजोडले तहस नहस हुने गरी तोड्नु पर्छ। यो रुपन्देही ३ को एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ। यो चुनाव जनता भर्सेस राणा शासन हो। दुई तिहाइ सरकारलाई नारायणगढ बुटवल सडक खण्डमा हामीमाथि गरेको अत्याचार पोख्ने बाटो हो। झोले अदालतलाई नेपाली अदालत बनाउने बाटो हो। कुलमानको बत्ती निभाउने राक्षसहरूको अन्त्य गरेर नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो। जसरी गएको चुनावमा पुरै नयाँ अनुहारहरू स्थापित गरिदिनु भयो अब फेरि पालो आएको छ। रुपन्देही ३ का मेरो प्यारो जनता यो हजुरको क्षेत्रको मात्र चुनाव होइन देशको चुनाव हो र देशको पिडा, आशु र आवाज बोल्न तयार भएर बस्नुहोला। नेपाली जनताले जित्ने मात्र होइन सफा चट् क्लिन स्विप गर्ने हो, सफा चट्।
प्रतिक्रिया