माधव नेपाललाई 'मरेको सिनो' भनेपछि झाँक्रीसँग स्पष्टीकरण माग, कारबाहीको तयारी

बुधबार, १८ असार २०८२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टी नेतृ रामकुमारी झाँक्रीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि दिएको अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधेको छ । अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको प्रसंगमा झाँक्रीले सार्वजनिक कार्यक्रममा ‘काँधमा मरेको सिनो बोकेर हिँड्न सकिँदैन’ भनेर दिएको अभिव्यक्तिपछि विवाद चुलिएको हो ।

पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलामा बोल्दै पार्टी नेतृत्वमा संवैधानिक संकट आएको उल्लेख गर्दै त्यसको समाधान अर्ली महाधिवेशनबाट खोज्नुपर्ने बताएकी थिइन् । सोही सन्दर्भमा उनले अध्यक्ष नेपालप्रति लक्षित गर्दै 'काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन' भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिले पार्टीभित्र तीव्र असन्तुष्टि जन्माएको छ । पार्टी अनुशासन आयोगले झाँक्रीलाई लिखित स्पष्टीकरण मागिसकेको र त्यसको जवाफका आधारमा सचिवालय बैठकमा छलफल गरी निर्णय लिने तयारी भइरहेको सचिव सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् । ‘उहाँको गलत अभिव्यक्तिबारे सचिवालय बैठकमा छलफल हुन्छ, जवाफ आएपछि आवश्यक निर्णय गरिनेछ,’ पाण्डेले बताए ।

पार्टीका नेताहरूले झाँक्रीको शब्द चयन आपत्तिजनक रहेको भन्दै अनुशासनको कारबाहीको माग गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष तथा दलको उपनेता रहेका राजेन्द्र पाण्डेले समेत झाँक्रीको भाषा अनुचित भएको टिप्पणी गर्दै अनुशासनको कारबाही हुने बताएका छन् । ‘एउटा राजनीतिक कार्यकर्ताले बोल्ने भाषा त्यस्तो हुन्छ ? उहाँलाई अनुशासनको कारबाही हुन्छ, गर्नुपर्छ,’ पाण्डेले भने ।

यता झाँक्रीकै इन्चार्जमा रहेको अनेरास्ववियुमा समेत विवाद चुलिएको छ । अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा असन्तुष्ट समूहले नरेश न्यौपानेको अध्यक्षतामा असार १५ गते समानान्तर कमिटी घोषणा गरेपछि विद्यार्थी संगठनमा द्विविधा बढेको हो । श्रेष्ठलाई अध्यक्ष नेपालनिकट र न्यौपानेलाई झलनाथ खनाल तथा महासचिव घनश्याम भुसालनिकट मानिन्छ ।

यसबीचमा अध्यक्ष माधव नेपाल संसदबाट निलम्बनमा परेपछि संसदीय दलको नेताबाट स्वतः हटिसकेको विषयमा पनि बहस चलिरहेको छ । वरिष्ठ उपाध्यक्ष पाण्डेले संसद पद निलम्बन भइसकेका नेपाल अब दलको बैठकमा सहभागी हुन नसक्ने र त्यसअनुसार संसदीय दलको नयाँ नेता चयनको प्रक्रिया अघि बढ्ने संकेत गरेका छन् ।

पार्टीभित्रको यो क्रमिक विवादले एकीकृत समाजवादीमा आन्तरिक अस्थिरता बढ्दै गएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार