वाईसीएलमा आबद्ध पाण्डेविरुद्ध यसअघि पनि चलेको थियो मुद्दा, अहिले अपहरण र डकैतीमा संलग्न

विहीबार, १९ असार २०८२

विराटनगर । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलका पूर्वसदस्य कुशल पाण्डे पुनः गम्भीर आपराधिक आरोपमा पक्राउ परेका छन् । विराटनगर–११ निवासी २६ वर्षीय पाण्डे यसपटक अपहरण तथा डकैतीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो ।

पाण्डे विगतदेखि नै आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए । मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार पाण्डेविरुद्ध यसअघि नै दुई वटा ज्यान मार्ने उद्योग र एक अभद्र व्यवहारसम्बन्धी मुद्दा चलिसकेको थियो । तीमध्ये मञ्जु तामाङ, स्माइल साफी र प्रवेज आलमको जाहेरीका आधारमा ती मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

यसपटकको घटनामा पाण्डे अपहरण र डकैतीको मुख्य योजनाकार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले जनाएको अनुसार असार ११ गते बिहान ११:१५ बजे विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई आफुहरू प्रहरी भएको भनी बताउदैँ अपहरण गरिएको थियो । अपहरणकारीले उनलाई विराटनगर–१३ को महतो टोलबाट उठाएर आँखा अस्पताल छेउ हुँदै विराटनगर–१४ स्थित जतुवा पुर्याई साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ लुटपाट गरी छाडेका थिए ।

अपहरणकारी समूहले प्रयोग गरेको को १४ प ३३३० नम्बरको स्कुटर पनि प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न विराटनगर–८ का समीर हुसेन र विराटनगर–६ का आशिव अन्सारी यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूमाथि शरीर बन्धक बनाई डाँका गरेको कसुरमा अनुसन्धान भइरहेको छ । पाण्डे भने घटनापछि फरार भएका थिए ।

पक्राउपछि पाण्डेले आफु वाईसीएल विराटनगर अध्यक्ष भएको दाबी गरेका छन् । तर माओवादी केन्द्र विराटनगर अध्यक्ष देव राजवंशीले भने पाण्डे पूर्वसदस्य मात्रै भएको स्पष्ट पारेका छन् ।

प्रहरीले पाण्डेलाई १ लाख ५० हजार नगदसहित पक्राउ गरेको जनाएको छ । साथै घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरिएको छ । प्रहरी स्रोतका अनुसार राजनीतिक संरक्षणका कारण पाण्डे लामो समयदेखि फरार रहँदै आएका थिए । तर अहिले पर्याप्त प्रमाणसहित पक्राउ गरिएको छ र विस्तृत अनुसन्धान अघि बढाइएको छ ।

“पाण्डेले योजना बनाउने, अरुलाई प्रयोग गर्ने, र आफू पछाडि बस्ने शैली अपनाउँदै आएका छन् । यो घटनामा पनि सोही प्रवृत्ति देखिएको छ । राजनीतिक आवरणका कारण उनी पुनः जोगिंदै आएका थिए, तर अब विस्तृत अनुसन्धानपछि सबै तथ्यहरू बाहिर ल्याइनेछ ।” एक प्रहरी अधिकृतले भने । 

 

यो पनि - अपहरण गरेर तीन लाख बढी लुटपाट गरेको आरोपमा विराटनगर वाईसीएलका नेता पाण्डे पक्राउ
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार