सुदूरपश्चिमका उद्योगमन्त्री रामेश्वर चौधरी बर्खास्त

विहीबार, १९ असार २०८२

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट बर्खास्त गरेका छन्। मन्त्री नियुक्त भएको एक महिनाभित्रै चौधरी बर्खास्तीमा परेका हुन्।

मुख्यमन्त्री शाहले असार ३ गते चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए। तर, उनले सो निर्देशन पालना नगरेपछि मुख्यमन्त्रीले उनलाई पदमुक्त गरेका हुन्।

चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य हुन्। उनी जेठ ४ गते सत्तारूढ गठबन्धनको सहमतिअनुसार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री पदमा नियुक्त भएका थिए। तर, छोटो समयमै उनी विवादमा मुछिएपछि पदबाट हटाइएका हुन्।

सूचना अनुसार, चौधरीले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा अनावश्यक हस्तक्षेप गरेको आरोप लागेको थियो। त्यसैगरी, विगतमा कृषि मन्त्री रहेका बेला अनुदान वितरणमा अनियमितता भएको भन्दै उनी विवादमा तानिएका थिए।

प्रदेश सरकारका एक स्रोतका अनुसार, बजेट निर्माणको क्रममा चौधरीले आफ्ना स्वार्थअनुकूल कार्यक्रम समावेश गराउने प्रयास गरेका थिए। यही कारण सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि बढेको थियो।

मुख्यमन्त्री शाहले ‘सरकारको नीति, नियम र शुद्ध प्रशासनिक अभ्यासमा आँच आउने गतिविधि स्वीकार्य नहुने’ स्पष्ट सन्देश दिँदै चौधरीलाई राजीनामा दिन भनेका थिए। सो निर्देशन पालना नभएपछि अन्ततः उनलाई बर्खास्त गरिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार