इटहरी । लोकप्रिय गायक बद्री पङ्गेनीले इटहरीको एडुटेक कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीका विद्यार्थीलाई झुमाएका छन् । इटहरीको एडुटेक कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीले आयोजना गरेको मेगा इभेन्टमा प्रमुख अतिथिका रूपमा आएका गायक पङ्गेनीसँग कलेजका विद्यार्थी झुमेका थिए ।
गायक पङ्गेनीको प्रवेशसँगै निकै उत्साहित बनेका विद्यार्थीले गायक पङ्गेनी लगायत कार्यक्रममा उपस्थित अन्य अतिथिहरूलाई गायन तथा नृत्य प्रस्तुत गरेर देखाएका थिए ।
पङ्गेनीले आफ्ना चर्चित २ वटा गीत प्रस्तुत गरेका थिए । एक समय निकै चर्चा बटुलेको मान्छे चलेन बोलको गीत गाउँदा माहौल निकै शान्त बनेको थियो । त्यसपछि विद्यार्थीलाई नचाउने उद्देश्यले गायक पङ्गेनीले आफ्ना चर्चित गीत पानी सलल गाएपछि माहौल निकै तातिएको थियो ।
गायक पङ्गेनीले स्टेजबाट तल झरेर विद्यार्थीकै बिचमा गएर गाउने तथा नृत्य समेत गर्दा विद्यार्थी निकै उत्साहित भएका थिए । गायन प्रस्तुति पछि आफ्नो भनाई राखेका गायक पङ्गेनीले एडुटेक कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीको प्रशंसा गरेका थिए ।
गायक पङ्गेनीले अध्यापन गराउने शिक्षक शिक्षिकाहरूलाई विद्यार्थीहरूलाई कहिले पनि तँ भनेर अपमान गर्न नहुने उल्लेख गरे । उनले विद्यार्थीहरूमा छुट्टा छुट्टै विशेषता हुने उल्लेख गर्दै अध्ययनमा कमजोर विद्यार्थी गायनमा अब्बल हुन सक्ने उदाहरण प्रस्तुत गरे ।
आफूले विद्यालयमा अध्ययन गरेको न्युटनको नियमको उदाहरण दिँदै उक्त नियम अहिले सम्म कुनै पनि काममा आवश्यक नभएको उल्लेख गरेका पङ्गेनीले शिक्षण सिकाइ व्यवहारिक हुन आवश्यक रहेको उल्लेख गरे ।
दर्जनौँ सफल गीत सङ्गीत प्रस्तुत गर्न सफल पङ्गेनीले केही समे अघि मात्र पैसा सापटी बोलको गीत सार्वजनिक गरेका थिए । गायिका रचना रिमालसँग गाएको उक्त गीतले छोटो समयमा दर्शकको उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको थियो ।
प्रतिक्रिया