फास्ट ट्र्याकमा ‘ब्रेक’: नेताकै ठेक्कामा चरम लापरबाही, इलाम–झापा वैकल्पिक सडक अधुरै

शनिबार, २८ असार २०८२

इलाम : पहाडी जिल्ला इलामसहित पाँचथर र ताप्लेजुङको भाग्य र भविष्यसँग जोडिएको मेची राजमार्गको वैकल्पिक सडकको रूपमा हेरिएको इलाम भञ्ज्याङ्ग–बेलासे–बिदाबारी सडक यो वर्ष पनि कालोपत्रे हुन सकेन । 

मेची कोरिडोरअन्तर्गत काम भइरहेको सडक निर्माण ठेकेदार कम्पनीको चरम लापरबाही र ढिलासुस्तीको कोप भाजनमा परेको हो ।

माई नगरपालिकाको लोदिया खोला माथिबाट सोक्तिमसम्मको सडक खण्ड,सोक्तिमदेखि बेलासे–माईखोला खण्ड र बेलासी, राकसे हुँदै इलाम भञ्ज्याङ्गसम्मको सडक खण्ड छुट्टाछुट्टै कालोपत्रे निर्माण गर्न ठेक्का लागेको थियो । तर, निर्माण कम्पनीको लापरबाहीका कारण कामले गति लिन नसकेको हो ।

तीनै खण्डको करिब १६ किलोमिटर सडक कालोपत्रे गर्न डिभिजन सडक र सम्बन्धित निर्माण व्यवसायीहरूलाई ‘काउछो’ साबित भएको छ ।

तोकिएको म्यादभित्र धिमा गतिमा काम भएकाले बर्सेनि सडक निर्माणको लागि छुट्टिएको बजेट फिर्ता हुने गरेको छ । यो वर्षमा पनि करिब साढे ५ करोड रकम काम नभएर फिर्ता भएको डिभिजन सडक कार्यालयले जनाएको छ । 

केचना कञ्चनजंगा सडकअन्तर्गत इलाम खण्डको बेलासी—राकसे—भञ्ज्याङ्ग खण्ड थपिएको म्यादभित्र पनि सुस्त गतिमा निर्माण भइरहेको छ । पछिल्लो पटक २०८२ असार १८ गतेभित्र काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको भए पनि आधा कामसमेत हुन सकेको छैन । निर्माणका लागि २०७८ असार २९ गते निर्माण कम्पनी खड्का कृष्ण सक्षम जेभीसँग सम्झौता भएको थियो । 

२०८० पुस मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि पटक–पटक म्याद थप गर्दा समेत कुनै प्रगति नभएको र हालसम्म उक्त सडक खण्डमा ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको डिभिजन सडक कार्यालयका डिभिजन इन्जिनियर पवन भट्टराईले जानकारी दिए । निर्माण कम्पनीका प्रमुख डम्बरबहादुर खड्का हुन् । 

उनको कम्पनीले सडकको निर्माण जिम्मा लिए पनि विभिन्न बहानामा सडक निर्माण गर्न आलटाल गरिरहेको कार्यालय स्रोतले जनाएको छ । पुवा खोलादेखि भञ्ज्याङ्गसम्म सडक ग्राभेल गरिएको र राकसे–बेलासे आसपासमा केही ग्राभेल गरेको पाइएको छ । सडकको केही स्थानमा ढलान गर्ने र नाली बनाउने काम पनि बाँकी छ । 

खड्का नेपाली काँग्रेस इलामका सभापति पनि हुन् । उनी गत उपनिर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार भएकाले पनि निर्माण अधुरो रहेको स्थानीयहरू बताउँछन् । निर्माण कार्यमा संलग्न मजदुर र पेटी ठेकेदारले समयमा भुक्तानी नपाएको गुनासो गरेका छन् । यो असारसम्ममा भुक्तानी पाउने आसले आफ्नो नाम गोप्य राखिदिन उनीहरूले अनुरोध गरेका छन् । 

भ्याटसहित २७ करोड २१ लाख ५३ हजारमा उक्त सडक खण्ड निर्माणको सम्झौता भएको हो । सडक निर्माणमा ढिलाइ भएको र मेची राजमार्गको राजदुवाली माथिल्लो खण्ड अवरोध भएपछि उक्त सडकको  निर्माणमा चरम दबाब परेको बताइएको छ ।

जिल्ला समन्वय समिति इलाममा पटक–पटक सडक निर्माणको सन्दर्भमा सर्वपक्षीय बैठक बसेको छ । विपद् व्यवस्थापन समितिका केही बैठकमा उक्त सडकको निर्माण अवस्थाबारे छलफल हुने गरेको छ ।

समयमा निर्माण नभएपछि ठेक्का सम्झौता तोड्ने वा कायमै राख्नेमा विमति देखिएको छ । ठेक्का तोडेमा पनि नयाँ सम्झौता र निर्माण कार्य केही वर्ष ओझेलमा पर्ने सुझाव प्राप्त भएको छ । केहीले सम्झौता कायमै रहेमा पनि सडक निर्माण अगाडि नबढ्ने दाबी गरेका छन् । खड्का आफूले भने म्याद थप हुने र निर्माण अगाडि बढाउँदै जाने बताएका छन् । 

उता जिल्ला समन्वय समितिको बैठकमा दुई महिनाभित्रमा कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको धुलिखेल आले जेभीका प्रोप्राइटरले पनि चिसापानी खण्डमा कालोपत्रे गर्न सकेको छैन । सोक्तिमदेखि माईखोला बेलासीसम्मको सडक खण्डमा कालोपत्रे गर्नका लागि वेश हालेर पेलिएको छ । 

तर, प्राविधिकहरूका अनुसार सडक सुकेपछि मात्र अलकत्रा लगाउन मिल्ने भएकाले वर्षायाममा उक्त समस्या कायम रहने छ । निर्माण कम्पनीले कमसल गिट्टी बालुवा थुपारेकाले उठाएर नयाँ लगाउन सुझाव दिइएको थियो ।

केही स्थानमा कमसल ‘मेटेरियल’ लगाएकाले काममा ढिलासुस्ती भएको हो । २०८० जेठ १८ मा निर्माण कार्य सक्नुपर्नेमा उक्त सडक खण्डमा पनि काम अहिलेसम्म अधुरै छ । यद्यपि, यो खण्डमा भने ७० प्रतिशत भौतिक प्रगति भएको पाइएको छ । 

यो सडक खण्ड निर्माण अधुरो रहनुमा यसअगाडिको सोही सडक खण्डको केही भागको ठेक्काका कारणले रहेको व्यवसायी बताउँछन् ।

धुलिखेल माईस्थान जेभीले उक्त सडकको माइखोलादेखि चिसापानीतर्फ तल्लो क्षेत्रमा कटिङ र स्ट्रक्चर निर्माणका लागि सम्झौता गरेको थियो । तर, हालसम्म पनि उक्त स्थानमा निर्माण अधुरो रहेकाले धुलिखेल आले जेभीले त्यस खण्डमा कालोपत्रे निर्माणको काम अगाडि बढाउन सकेको छैन ।

सडक डिभिजन कार्यालयका अनुसार दश मिटर सडक ढलान र नाली निर्माण अनि प्लमको केही काम अझै बाँकी छ । सरासर गरेमा एक हप्तामा सकिने काम गर्न निर्माण कम्पनीले आलटाल गरिरहेको पाइएको छ ।

धुलिखेल माईस्थान जेभीका आधिकारिक व्यक्ति नरेश श्रेष्ठ हुन् । उनी इलाम नगरपालिका –७ का वडाध्यक्ष पनि हुन् । यस्तै काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलका जिल्ला अध्यक्षसमेत हुन् । २०७८ सालमा ठेक्का लागेको सडकको काम हाल सम्म ८० प्रतिशत पूरा भएको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

यो सडक खण्डमा चाँडो निर्माण गर्नुको साटो निर्माण व्यवसायीहरूले पुन म्याद थपको निवेदन दिने गरेका छन् । यो समाचार तयार पार्दै गर्दा फिल्डमा पुगेका सडकका कर्मचारीले धमाधम काम गरिरहेको र अन्तिम चरणमा प्रगति भएको बताए ।  

यसैगरी गत वर्षको पहिरोले क्षतविक्षत पारेपछि सोक्तिमदेखी तल्लो क्षेत्रमा पनि कालोपत्रेमा अवरोध भएको छ । सरोज कन्स्ट्रक्सनले कालोपत्रे निर्माणका लागि सबवेश हालेर ठिक्क पारेको सडक गत वर्षको पहिरोले क्षति पुर्‍याएको थियो ।

यो सडकको पुन ठेक्का प्रक्रिया अगाडि बढाएर निर्माण भइरहेको बताइएको छ । शुभ लक्ष्य निमन जेभीले पुन स्ट्रक्चर निर्माणका लागि ठेक्का लिएको हो । यो ठेक्काको म्याद पनि असार २० मा सकिएको छ । उक्त सडक खण्डमा पनि यो वर्ष कालोपत्रे अधुरै रहेको छ । 

पुल निर्माण सन्तोषजनक रूपमा 

द्रुत मार्गको बिचमा पर्ने पुवा खोला र ठाडे खोलामा भने सन्तोषजनक रूपमा पुल र कल्भर्ट निर्माण भएको पाइएको छ । पुवा खोलामा बेलीब्रिज निर्माण समयमै सम्पन्न भएको छ । सागर, शुभारम्भ एरीसा जेभीले पुवा खोलामा बेलीब्रिज जडान गरी एप्रोच रोडको समेत काम गरेको छ । १ करोड ३५ लाख  ४४ हजारमा उक्त निर्माण सकिएको हो । 

नेताको पहुँचमा सर्‍यो पुल

पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले यस अगाडि नै पुवाखोलाको भाङटारमा पक्की पुल निर्माण गर्न सम्झौता गरेको थियो । सम्झौता विपरीत उक्त पुल पुवामझुवा जाने सडक खण्डमा निर्माण भएको थियो ।

ग्वाल्वा माइला ब्रो बौद्ध जेभीले तत्कालीन यस क्षेत्रका प्रदेश सांसद रामबहादुर रानामगर र तत्कालीन नगर प्रमुख महेश बस्नेतको दबाबमा अन्यत्रै पुल निर्माण गरेको थियो । 

राना हाल प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री र बस्नेत इलाम क्षेत्र नम्बर १ का सङ्घीय सांसद हुन् । दुवै नेकपा (एमाले)का पूर्व जिल्ला अध्यक्ष हुन् । 

भाङ्टारमा बन्ने पुल अन्यत्र लगेपछि यहाँ स्थायी पुल निर्माणका लागि ठेक्का सम्झौता हुन सकेको छैन । बेलीब्रिजका लागि राज्यको लगानी बढेको छ । पुवा खोलामा पक्की पुल निर्माणका लागि ठेक्का स्वीकृत हुन नसकेको जनाइएको छ । 

यसैगरी द्रुत मार्गको बिचमा पर्ने ठाडे खोल्सामा बक्स कल्भर्ट निर्माण भने अन्तिम चरणमा पुगेको छ । सबैभन्दा अप्ठ्यारो सडक खण्डमा पर्ने ठाडे खोल्सामा समयमै कल्भर्ट निर्माण भएमा सडकको ग्रेडमा सुधार भएर यातायात सुचारु गर्न मद्दत मिल्ने देखिन्छ ।

कृष्ण डायमन्ड अभ्युदय जेभीले १ करोड ८३ लाखमा उक्त कल्भर्ट निर्माणको ठेक्का पाएको हो । टु सेल बक्स कल्भर्ट निर्माण गर्न यही असारसम्मको म्याद भए पनि निर्माण सन्तोषजनक रहेको डिभिजन सडक कार्यालय इलामले जनाएको छ । 

इलामलाई तराईसँग जोड्ने वैकल्पिक मार्ग ‘फास्ट ट्र्याक’ समयमा निर्माण नहुँदा समस्या हुने गरेको छ । मेची राजमार्गका विभिन्न स्थानमा पहिरो जाने र सडक अवरुद्ध हुँदा जिल्लामा यातायात ठप्प हुने गरेको छ ।

बिर्तामोडबाट इलाम सम्मको दुरी ५३ किलोमिटर छ । यो सडक मेची राजमार्ग भन्दा करिब आधा छोटो छ । यो सडकलाई इलाम लगायत पूर्वी पहाडी जिल्लाको भाग्यको रूपमा हेरिएको छ । तर, कार्यान्वयन गराउने निकायसमेत मौन देखिन्छ ।

प्रतिक्रिया

टीका खतिवडा
लेखकको बारेमा
टीका खतिवडा

इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।

सम्बन्धित समाचार