विराटनगरबाट सात लाखभन्दा बढीको अवैध औषधसहित एक जना पक्राउ

मंगलबार, ३१ असार २०८२

विराटनगर : भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको औषधिसहित विराटनगरबाट एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ का २६ वर्षीय सिकन्दर यादव छन् ।

मङ्गलवार बिहान साढे ४ बजेतिर इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले यादवलाई विराटनगर–१६ स्थित दरैयाबाट पक्राउ गरेको हो ।

भारतीय मोटरसाइकलमार्फत औषधि ओसारिरहेका यादव प्रहरीलाई देख्नासाथ औषधि फालेर भाग्ने प्रयास गरेका थिए । उनलाई तत्कालै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार यादवले भन्सार छली गरेर बीआर ३८ एच २२२७ नम्बरको भारतीय मोटरसाइकलमा विभिन्न प्रकारका औषधिहरू ल्याएका थिए ।

प्रहरीले ओमेगाटाइम क्याप्सुल ४ काटुन् (२३० बट्टा), प्रोटोकल डी ट्याब्लेट ४७ बट्टा र ट्रकमाकल एम ट्याब्लेट ७९२ बट्टा बरामद गरेको छ । यी सबै औषधि एक बट्टामा ३० वटा ट्याब्लेट छन् । 

बरामद औषधिको बजार मूल्य झन्डै ७ लाख ९० हजार ३ सय रुपैयाँ बराबर हुने प्रहरीको अनुमान छ । हाल यादवलाई नियन्त्रणमा राखी इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका यादवसहित बरामद औषधि तथा मोटरसाइकललाई आवश्यक प्रक्रिया अघि बढाएर विराटनगर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस घटनालाई औषधि तस्करीको सङ्गठित सञ्जाल हुन सक्ने आशङ्कामा थप अनुसन्धान गरिरहेको छ । इन्स्पेक्टर कवि राई नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार