दलित उत्थानमा योगदानको कदर गर्दै ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार’ पूर्वमन्त्री विश्वकर्मालाई

विहीबार, ०१ साउन २०८२

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रा.मानबहादुर विश्वकर्मालाई ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ बाट सम्मानित गरेको छ । बुधबार आयोजित समारोहमा मन्त्री बद्रीप्रसाद पाण्डेले उनलाई ताम्रपत्र र एक लाख रुपैयाँ नगदसहित सम्मान गरेका हुन् ।

प्रा.विश्वकर्मालाई दलित समुदायमा शैक्षिक, राजनीतिक जागरण र अधिकार सुनिश्चितताका लागि गरेको योगदानका आधारमा पुरस्कृत गरिएको हो । पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मा नेपाली कांग्रेसभित्र दलित आरक्षण र सहभागिता सुनिश्चित गराउने नीतिगत निर्णयहरूका अभियन्ता मानिन्छन् ।

शिक्षा, राजनीति र समाज रूपान्तरणमा लामो समयदेखि सक्रिय विश्वकर्माले एमबीबीएस, इन्जिनियरिङलगायत उच्च शिक्षामा दलित विद्यार्थीका लागि छात्रवृत्ति र आरक्षणको व्यवस्था गराएका थिए । निजामती सेवामा ९ प्रतिशत आरक्षण नीतिको कार्यान्वयनमा समेत उहाँकै महत्वपूर्ण भूमिका रहेको छ ।

‘नेपाली कांग्रेसमा दलित आरक्षण’ जस्ता ऐतिहासिक नीतिगत परिवर्तनहरू उनकै नेतृत्वमा भएका थिए । दलित समुदायका लागि उल्लेखनीय सुधार र नीति निर्माणमा अग्रसर रहँदै आएका प्रा.विश्वकर्माले शिक्षा र सामाजिक न्यायको क्षेत्रमा बहुआयामिक प्रभाव छोड्न सफल हुनु भएका छन् । 

सन् १९४८ मा अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर विद्यालयस्तरसम्मको अध्ययन गाउँबाटै शुरु गरी भारतको राँची विश्वविद्यालयबाट एमएस्सी गरेका विश्वकर्माले वि.सं.२०३४ सालदेखि प्राध्यापन शुरू गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार