काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च–पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानमा, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशको उच्च–पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
वर्षाका कारण भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम छ। शहरी र तराई क्षेत्रमा डुबानको जोखिम छ। ठूला र साना नदी, खोलामा पानीको सतह बढ्न सक्छ। दैनिक जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्रका निर्माण कार्य, सडक र हवाई यातायात प्रभावित हुन सक्छ। हावाहुरीले पनि आंशिक असर पार्न सक्छ। त्यसैले सतर्कता र पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ।
प्रतिक्रिया