यस वर्ष देशभर ७२ प्रतिशत रोपाइँ सम्पन्न,गत वर्षको तुलनामा १२ प्रतिशतले कम

मंगलबार, ०६ साउन २०८२

काठमाडौँ : यस वर्ष देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गत वर्ष सोही अवधिमा करिब ८४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यसअनुसार यो वर्ष रोपाइँ १२ प्रतिशतले कम देखिएको छ ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार देशभर करिब १० लाख हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ । कुल १४ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ ।

प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जहाँ १ लाख ७१ हजार हेक्टरमा रोपाइँ भएको हो ।

कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत, बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा १ लाख ५ हजार हेक्टरमा रोपाइँ भएको हो ।

जोशीका अनुसार यदि मौसममा ठुलो प्रतिकूलता देखिएन भने साउनको अन्त्यसम्म ९८ प्रतिशतसम्म रोपाइँ हुने अपेक्षा गरिएको छ ।

उनले तराई क्षेत्रलाई धान उत्पादनका लागि सबैभन्दा उपयुक्त क्षेत्रको रूपमा उल्लेख गर्दै कुल उत्पादनको ७० प्रतिशत योगदान तराईबाट हुने जानकारी दिए । बाँकी ३० प्रतिशत उत्पादन पहाडी क्षेत्रबाट हुने गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो । यो वर्ष मौसम, बाढी, सुख्खा र अन्य दैवी प्रकोपका कारण केही क्षेत्रमा ढिलो रोपाइँ भएको मन्त्रालयले जनाएको छ । तथापि, पछिल्लो समयको प्रविधि, ज्ञान, उन्नत जातका बीउ प्रयोग र सिपको प्रयोगले उत्पादन बढ्ने आशा गरिएको छ ।

मन्त्रालयका अनुसार धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा १ प्रतिशतले असर पर्ने गर्छ । यो वर्ष अनुमानित ६० लाख मेट्रिकटन धान उत्पादनबाट करिब ३५ लाख मेट्रिकटन चामल उत्पादन हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार