एमाले विराटनगरका १९ वटै वडामा साउन १७ गते एकैदिन अधिवेशन हुने

बुधबार, ०७ साउन २०८२

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले सबै वडाको अधिवेशन एकैदिन अर्थात् साउन १७ गते गर्ने निर्णय गरेको छ । 

एमाले विराटनगरको पहिलो सचिवालय बैठकले महानगरका १९ वटै वडाको अधिवेशन एकैदिन सम्पन्न गर्ने निर्णय लिएको हो । पार्टीका महानगर अध्यक्ष बलराम गिरीको अध्यक्षता तथा एमाले मोरङका उपाध्यक्ष सागर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टीका जिल्ला सचिव सोमराज थापा विशेष अतिथि थिए । 

बैठकले संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको अभ्यास र पार्टी गतिविधिलाई व्यवस्थित ढंगले अघि बढाउने उद्देश्यसहित महत्त्वपूर्ण निर्णयहरू गरेको एमाले विराटनगरका सचिव विज्ञान चापागाईंले बताए । उनका अनुसार दोस्रो पूर्ण बैठकको निर्णयअनुसार आगामी साउन १७ गते शनिबार विराटनगरका सबै वडामा तेस्रो वडा अधिवेशन सम्पन्न गर्ने तय भएको छ । 

अधिवेशनलाई भव्य, सभ्य र विधिसम्मत ढंगले सम्पन्न गर्न  वरिष्ठ अधिवक्ता गणेशराज लुइँटेलको संयोजकत्वमा अधिवक्ता डिल्लीराम घिमिरे, अधिवक्ता विश्वराम भट्टराई, अधिवक्ता महेश खड्का र महानगर निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुकुमारी तामाङ सदस्य रहने गरी ५ सदस्यीय महानगर निर्वाचन समिति गठन गरिएको चापागाईंले बताए । साथै, सबै १९ वटा वडा कमिटीबाट सिफारिस गरिएअनुसार हरेक वडामा ३ सदस्यीय वडा निर्वाचन समिति पनि गठन गरिएको उनको भनाइ छ । 

बैठकले २०८२ सालको वार्षिक कार्यतालिका कार्यान्वयनको सन्दर्भमा ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर आगामी साउन ७ गते साँझ विराटनगरस्थित पुष्पलाल चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उनले बताए । उक्त दिवसको सन्देश जनसमुदायमा पुर्‍याउने उद्देश्यले कार्यक्रमलाई प्रभावकारी बनाउने तयारी गरिएको चापागाईं बताउँछन् । 

यसैगरी, साउन महिनाको अन्त्यसम्ममा जनप्रतिनिधिहरूले हालसम्म गरेका कामको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ। चापागाईंका अनुसार पार्टी कार्यसम्पादनको मूल्यांकन र उत्तरदायित्व सुनिश्चित गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो ।

त्यस्तै, साउन ३१ गते निर्वाचित वडा पदाधिकारीहरूको अभिमुखीकरण कार्यक्रम गर्ने र पार्टी स्कुल सञ्चालन गर्ने निर्णयसमेत बैठकमा भएको छ । पार्टी कार्यकर्ताको ज्ञान अभिवृद्धि र अनुशासन सुदृढीकरण गर्न स्कुल सञ्चालनलाई प्रभावकारी बनाउने तयारी भइरहेको उनको भनाइ छ । 

वर्षायाममा विराटनगरमा बारम्बार देखिँदै आएको डुबान समस्या समाधानका लागि दीर्घकालीन, मध्यकालीन तथा तत्कालीन योजना निर्माण गरी कार्यान्वयन गर्न विराटनगर महानगरपालिकाको ध्यानाकर्षण गराउने निर्णयसमेत बैठकले गरेको छ। जनजीवनलाई प्रभावित बनाउने डुबान समस्याप्रति पार्टीको चासो रहेको भन्दै यसबारे तत्कालै पहल गरिनुपर्ने बैठकले उल्लेख गरेको छ।

सचिव चापागाईंले पार्टीको सांगठनिक, वैचारिक र कार्यगत क्षेत्रलाई थप व्यवस्थित बनाउन सचिवालय बैठकको निर्णयहरू प्रभावकारी हुने विश्वास गरिएको उल्लेख गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार