धरान : धरान उपमहानगरपालिकाले नगरभित्र रहेको धरानको छाता चोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग औपचारिक आग्रह गरेको छ।
नगरपालिकाले उक्त स्थानमा आफ्नै नगर अस्पताल निर्माण गर्न चाहेको जनाएको छ।
नगर प्रमुख हर्कराज राईद्वारा मन्त्रालयमा पठाइएको पत्रमा, उक्त जग्गा पूर्व जानकारीबिना बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको भन्दै आपत्ति जनाइएको छ। पत्रमा सो कार्य दलालीका आधारमा गरिएको आशङ्का व्यक्त गरिएको छ।
छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बिपी अस्पताललाई दिई पठाएछ थाहा भएन भनी पत्रमा उल्लेख गरिएको छ, यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। कृपया फिर्ता गरिदिनु होला।"
धरान नगरपालिकाको तर्फबाट पठाइएको उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश १ का मुख्यमन्त्री कार्यालय, र बिपी प्रतिष्ठानलाई समेत पठाइएको छ।
नगरपालिकाले त्यस क्षेत्रलाई स्थानीय स्वास्थ्य सेवा सुदृढ गर्न प्रयोग गर्न चाहेको जनाइएको छ। तर बिपी प्रतिष्ठानको तर्फबाट यसबारे कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
यस विषयमा स्थानीय स्तरमा व्यापक छलफल र राजनीतिक सरगर्मी बढेको छ। नागरिकले पनि नगर अस्पतालको आवश्यकता औँल्याउँदै स्थानीय निकायको पहललाई समर्थन गरिरहेका छन् ।
प्रतिक्रिया