धरान अस्पताल प्रकरण: मेयर साम्पाङ र बिपी प्रतिष्ठानबीच टकराब

बुधबार, ०७ साउन २०८२

धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङको सामाजिक सञ्जालमा गरिएको टिप्पणीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आक्रोशित बनाएको छ । मेयर साम्पाङले ‘पुरानो अस्पताल बीपीले हडपेको’ भन्ने पत्र सार्वजनिक गरेपछि प्रतिष्ठानले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ ।

प्रतिष्ठानका सह–प्रवक्ता डा.अभिजीत कुमारद्वारा जारी विज्ञप्तिमा मेयरको स्टाटस तथ्यहीन, भ्रामक र बदनियतपूर्ण रहेको आरोप लगाइएको छ । अस्पताल तथा चिकित्सकमाथि गरिएको टिप्पणीले सेवाग्राहीमा भ्रम फैलाएको र संस्थाको गरिमामा आँच पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

त्यसअघि मेयरले सामाजिक सञ्जालमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख गरेका थिए,“उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर वीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला । धन्यवाद ।”

त्यसपछि प्रतिष्ठानले यस्ता शब्दावली प्रयोग गर्नु धरानजस्तो संवेदनशील क्षेत्रमा झन् दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेको छ । “स्थानीय सरकार प्रमुखजस्तो गरिमामय पदमा रहनु भएका व्यक्तिबाट ‘हडपेको’, ‘सुटुक्कै लगेको’ जस्ता शब्द प्रयोग हुँदा आम नागरिकमा भ्रम उत्पन्न भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

BP pratisthan

विज्ञप्तिअनुसार, २०४८ सालमा धरान बजारस्थित अस्पतालको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय तत्कालीन सरकारले गरेको थियो । सो निर्णय बीपी प्रतिष्ठानको कार्यकारिणी समिति र सञ्चालक परिषद्को अनुमोदनमार्फत कार्यान्वयनमा आएको बताइएको छ । साथै, प्रतिष्ठानको सर्वोच्च निकाय सञ्चालक परिषद्मा धरान नगरप्रमुख स्वयम् सदस्य रहने जानकारी पनि दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ,“जहाँसम्म पुरानो अस्पताल क्षेत्रलाई धरानवासीको हितमा प्रयोग गर्ने विषय छ, त्यसबारेमा संवाद, छलफल र सहकार्य गर्न प्रतिष्ठान सधैँ सकारात्मक र तयार छ ।” प्रतिष्ठानले भविष्यमा संयमित अभिव्यक्ति र तथ्यमा आधारित सूचना प्रवाह हुनुपर्नेमा जोड दिएको छ ।

यो पनि :

धरान उपमहानगरले माग्यो पुरानो अस्पतालको जग्गा फिर्ता

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार