इटहरी : विश्वकै सबैभन्दा ठुलो सेवा संस्था लायन्स क्लब इन्टरनेशनल अन्तर्गतको डिस्ट्रिक्ट ३२५ सिका क्लब पदाधिकारीहरूलाई लक्षित गरी नेतृत्व, जिम्मेवारी र व्यवस्थापनसम्बन्धी विशेष तालिम आज इटहरीमा सम्पन्न भएको छ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त तालिम कार्यक्रम ग्याट एरिया ४ का एरिया चिफ भोजराज दाहालको संयोजनमा आयोजना गरिएको हो।
कार्यक्रममा ग्याट एरिया ३,४ र ५ का का ६० वटा लायन्स क्लबका अध्यक्ष,उपाध्यक्ष,सचिव र कोषाध्यक्ष गरी झन्डै २०० भन्दा बढी पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिमलाई डिस्ट्रिक्ट गभर्नर बबरजंग थापा, पूर्व गभर्नर विकास अधिकारी, विजयहरि शर्मा, फर्स्ट भाइस गभर्नर लीला चिमरिया, पूर्वाञ्चल विश्वविद्यालयका डिन तथा राष्ट्रिय प्रशिक्षक डा. सन्देशदास श्रेष्ठ र प्रख्यात मोटिभेसनल स्पिकर राजाबाबु शाहले प्रशिक्षित गरेका थिए ।
प्रशिक्षकहरूले क्लब सञ्चालनमा चारै प्रमुख पदाधिकारीको भूमिका, पारदर्शी व्यवस्थापन र समन्वयात्मक नेतृत्वका विविध पक्षमा गहन प्रशिक्षण दिएका थिए।
कार्यक्रमका संयोजक दाहालका अनुसार सहभागीलाई पद अनुसार जिम्मेवारी बोध गराउँदै क्लबमा सेवा भाव, पारदर्शिता र समर्पणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विशेष मार्गदर्शन प्रदान गरिएको थियो।
सहभागीहरूले तालिमको अन्तरक्रियात्मक शैली र उपयोगी विषयवस्तुले व्यक्तिगत नेतृत्व क्षमता तथा क्लब सञ्चालनको दक्षता अभिवृद्धिमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।
लायन्स क्लब इन्टरनेशनल सन् १९१७ मा स्थापना भएको एक गैर राजनीतिक, स्वयंसेवी सेवा संस्था हो, जसको मुख्य उद्देश्य विश्वभरका समुदायमा आँखा उपचार, भोकमरी निवारण, वातावरण संरक्षण, बाल संरक्षण र रोग नियन्त्रण जस्ता क्षेत्रमा सेवा पुर्याउनु हो।
विश्वका २०० भन्दा बढी देशमा फैलिएको लायन्स क्लबमा १५ लाखभन्दा बढी सदस्य आबद्ध छन्। नेपालमा लायन्स क्लबका हजारौँ सदस्य सक्रिय छन्, जसले स्वास्थ्य शिविर, राहत वितरण, शिक्षासम्बन्धी कार्यक्रम लगायतका समाजसेवामा समर्पित छन्।
प्रतिक्रिया