डा. महतको सक्रियता : काङ्ग्रेसभित्र एकता र सङ्गठन सुदृढीकरणतर्फ नयाँ मोड

शनिबार, ११ असोज २०८२

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरूलाई चिर्दै सङ्गठनलाई बलियो बनाउन सक्रिय भएका छन् ।

यही क्रममा उनले काठमाडौँ उपत्यका भित्र रहेका पार्टीका बहुसङ्ख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गरेका छन् । यसअघि नेपाल विद्यार्थी सङ्घका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरूसँग पनि निरन्तर संवादमा रहँदै आएका डा. महतले हालैको जेनेरेसन जी आन्दोलन, हस्ताक्षर अभियान र युवापुस्तामा देखिएको असन्तोषलाई सम्बोधन गर्ने उद्देश्यले छलफललाई अघि बढाएको बताइएको छ ।

छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले घाइते पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य लाभको कामना गर्दै पार्टीलाई अनुशासन, एकता र सहकार्यतर्फ उन्मुख बनाउनुपर्ने धारणा राखेका थिए ।

नेताहरुलाई सम्बोधन गर्दै डा. महतले भने, ’पार्टीलाई केन्द्रदेखि गाउँसम्म बलियो संरचना बनाउने हो भने मात्रै लोकतान्त्रिक आन्दोलन सशक्त हुन्छ । गुटगत गतिविधि र असन्तुष्टिपूर्ण हस्ताक्षर अभियानले पार्टी कमजोर बनाउँछ, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’

यसैबीच दशैंलगत्तै सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाउने तयारीबारे छलफलमा बहस भएको छ। उक्त बैठकले सङ्गठन विस्तार, असन्तुष्टि व्यवस्थापन र नीतिगत स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।

संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नेताहरूले कांग्रेसलाई लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा पुनः उभ्याउन महत्त्वपूर्ण निर्णय आवश्यक रहेको बताएका छन ्।

राजनीतिक विश्लेषकहरूको भनाइमा, ’डा. महतको सक्रियता कांग्रेसलाई आगामी निर्वाचन र आन्दोलनमा बलियो नेतृत्वका रूपमा प्रस्तुत गर्ने आधार बन्न सक्छ।’

विज्ञहरूले यस छलफललाई केवल औपचारिकता नभई ‘पार्टी एकता अभियान’को पहिलो चरणका रूपमा लिएका छन ्। डा. महतले आगामी दिनमा प्रदेश र जिल्ला तहमा पुगेर यस्तै प्रकृतिका छलफल गर्ने तयारीसमेत गरिरहेका छन् ।

विश्लेषकहरूका अनुसार, यो पहल कांग्रेसलाई असन्तुष्टिबाट निकाल्दै संगठनात्मक एकता र लोकतान्त्रिक आन्दोलनमा प्रभावकारी मोड दिन सक्ने सम्भावित टर्निङ प्वाइन्ट हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार