काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘तोडफोड र आगजनी’ को उपज भएको आरोप लगाएका छन् ।
बडादसैँको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा सङ्घ नेपालको खुला कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारप्रति तीव्र आलोचना गरेका हुन् ।
ओलीले भने, ‘जेनजी सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको सरकार हो । यो सरकारलाई म भन्न चाहन्छु, मेरा अभिव्यक्तिहरू, बोलेका कुराहरू प्रकाशन गरेर जनताको बिचमा ल्याओस् । कर्मचारीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती बाहिर ल्याओस् । प्रहरीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती पनि बाहिर ल्याओस् । सबै क्षेत्रमा गरिएका कामहरू रेकर्डेड छन्, सबै बाहिर ल्याओस्। हामीले गरेका कामहरू रेकर्डेड छन्, त्यो पनि ल्याओस् ।’
ओलीले आफूहरूले कुनै पनि षड्यन्त्र नगर्ने स्पष्ट पार्दै छलछाम र षड्यन्त्र होइन, पारदर्शी ढङ्गले अगाडि बढ्ने बताए ।
उनले भने, ‘हामी कुनै छलछाम गर्दैनौँ । छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढङ्गले अगाडि बढ्छौँ । जनतालाई सेवा–सुविधा दिन, शान्ति–सुरक्षा कायम गर्न र कानुनी राज्यको स्थापना गर्न हाम्रो नीति स्पष्ट छ ।’
भ्रष्टाचारको आरोपप्रति पनि ओलीले तीव्र प्रतिक्रिया जनाए । उनले भने, ‘भ्रष्टाचार ग¥यो भनेर हल्ला गरेर हुँदैन । कहाँ, केमा ग¥यो, केमा घुस खायो ? यस्ता कुरा अफवाह मात्र हुन् ।’
साथै उनले अहिलेको सरकारले केही नेताहरूको पासपोर्ट रोक्ने तयारी गरिरहेको चर्चा चलिरहेका बेला ओलीले त्यसप्रति पनि आपत्ति जनाए ।
उनले प्रश्न गरे, ‘अहिले सुन्दैछु, सरकार पासपोर्ट रोक्ने कुरा गर्दैछ । के ठानेको छ त्यो सरकारले? यो हा–हु गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ ? के सोचेकै हो ?’
ओलीले देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूले नै लिएको दोहो¥याउँदै संवैधानिक, लोकतान्त्रिक, मूलधारमा देशलाई ल्याउने बताए ।
उनले भने, ‘फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक, मूलधारमा ल्याउँछौँ। देशलाई फेरि पनि सुशासनमा ल्याउँछौँ ।’
ओलीले देश असुरक्षित बनाउने र आतङ्क फैलाएर सत्तामा पुग्नेहरू किन नै सुरक्षा दिने नसकेको भन्दै प्रश्न गरे । उनले भने, ‘सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ कि पर्दैन ? असुरक्षामा देश हाल्ने, आतङ्क फिँजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा नदिने यो त सरासर अन्याय हो ।’
प्रतिक्रिया