झापाको गौरिगन्जमा विद्यालयले सुरु गर्‍यो भर्मी कम्पोस्ट उत्पादन : व्यावसायिक कृषि शिक्षामा उदाहरणीय पहल

आइतबार, ११ साउन २०८२

झापा : झापाको गौरिगन्ज गाउँपालिका–२ मा रहेको गौरिगन्ज माध्यमिक विद्यालयले कृषि शिक्षालाई सैद्धान्तिक मात्र होइन, व्यावहारिक रूपमा पनि उदाहरणीय बनाउन सफल भएको छ।

कक्षा ९ देखि १२ सम्म कृषि विषयमा प्राविधिक धार सञ्चालन गर्दै आएको विद्यालयले आफ्नै प्राङ्गणमा भर्मी कम्पोस्ट मल उत्पादन गरी स्थानीय कृषकहरूलाई सर्वसुलभ दरमा वितरण गर्न थालेको छ।

विद्यालयले औद्योगिक स्तरमा पाइने गुणस्तरीय मल गँड्यौला प्रविधिबाट तयार गरी विद्यालयकै नामबाट ब्रान्डिङ गरेर बिक्री सुरु गरेको छ।

यस कदमले विद्यार्थीलाई सिपमूलक ज्ञान दिनुका साथै समाजमा उपयोगी काम गरेर आत्मनिर्भर बन्ने प्रेरणा दिएको छ।

"सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञान बढी आवश्यक हुन्छ," विद्यालयकी कृषि शिक्षिका निशा पराजुली भन्छिन्, "त्यसैले हामी विद्यार्थीलाई खेतमा लगेर मल उत्पादनदेखि बिक्रीसम्मको सम्पूर्ण प्रक्रिया सिकाउँछौँ।"

विद्यालयका अर्का शिक्षक नितेश कटुवालका अनुसार, "यदि हरेक विद्यालयले व्यावहारिक शिक्षा दिन सके, विद्यार्थीले आफ्नो सीप समाजमा देखाउन सजिलो पाउँछन्। यसले उनीहरूलाई थप आत्मविश्वासी र ऊर्जावान बनाउँछ।"

विद्यालयले आफ्नै लगानीमा मल उत्पादन गरेर आर्थिक पक्षमा पनि आत्मनिर्भर बन्ने सङ्केत दिएको छ।

कृषि शिक्षालाई प्रयोगात्मक रूपमा सिकाउने गौरिगन्ज मा.वि.को प्रयास अन्य विद्यालयका लागि पनि अनुकरणीय बन्न सक्ने देखिन्छ। शिक्षक, विद्यार्थी र स्थानीय कृषकबिचको सहकार्यले स्थानीय उत्पादन र शिक्षामा नयाँ सम्भावना खोलिदिएको छ।

स्थानीय कृषकहरूले समेत विद्यालयबाट प्राप्त मल उपयोगी र किफायती भएको प्रतिक्रिया दिएका छन्। गौरिगन्ज मा.वि.को यो पहलले ‘शिक्षाबाट समाज रूपान्तरण’को अभियानमा ठोस उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार