इनरुवा (सुनसरी) : सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजमा पुनः खतराको संकेतस्वरूप रातो बत्ती बलिएको छ । लगातारको वर्षाका कारण कोशी नदी उर्लंदै गइरहेकाले तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।
आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९१ हजार २१० क्युसेक पानी मापन गरिएको थियो भने सोमबार बिहान पनि १ लाख ७५ हजार ६८५ क्युसेक बहाव कायम रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
उच्च बहावका कारण ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी पानी बग्दा ‘खतराको सङ्केत’ स्वरूप रातो बत्ती बाल्ने नियमअनुसार ब्यारेजमा अहिले रातो बत्ती बलिएको छ ।
२०७५ सालको बाढी र २०६५ सालको विनाशकारी कोशी प्रकोप जनताका स्मृतिमा अझै ताजा छ । २०६५ सालमा १ लाख ६८ हजार क्युसेक बहाव हुँदा पूर्वी तटबन्ध भत्किएर हजारौँ परिवार विस्थापित भएका थिए ।
अहिले त्योभन्दा बढी पानी कोशी भएर बगिरहेकाले सुरक्षा निकायले तटीय क्षेत्रमा सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।
उपत्यकाबाट तराई झरेको लगातारको वर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान भएकाले सप्तकोशीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया