विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ गुराँस टोलमा बुधबार राति भएको आगलागीमा एक युवक घाइते भएका छन् ।
आगोले जलेर एउटा गाई पनि मरेको छ । स्थानीय सुरेन्द्र साहको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति करिब १०:३० बजेतिर आगो सल्किएको थियो । गोठमा सल्किएको आगोले छेउको विद्युत लाइनसमेत सर्ट गराएको प्रहरीले जनाएको छ ।
आगो स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । आगो निभाउने क्रममा साहका १९ वर्षीय छोरा अभिनाश साह जलेर घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते अभिनाशको शरीरका विभिन्न भागमा पोलेको छ । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको छ र अवस्था मध्यम रहेको जनाइएको छ ।
आगोले साहको एउटा गाई मरेको छ भने अर्को गाई र बाच्छी घाइते भएका छन् । आगोले गोठ आंशिक जलेको र करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीले आगलागीको विस्तृत कारण र क्षतिको विवरण संकलन गर्न थप अनुसन्धान अघि बढाएको जनाएको छ । स्थानीयले समयमै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको बताएका छन् ।
प्रतिक्रिया