पाँचथर । इलाममा असोज १८ गतेको भीषण वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ। सन्दकपुर गाउँपालिका–५ का २४ वर्षीय प्रवेश गुरुङको शव मङ्गलवार फेला परेसँगै यो सङ्ख्या बढेको हो।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाका अनुसार, प्रवेश असोज १८ गतेदेखि बेपत्ता थिए। बाढीले बगाएको स्थानदेखि करिब चार सय मिटर तल उनको शव फेला परेको बताइएको छ।
इलाममा असोज १८ गते मात्रै पहिरोले पुरिँदा ३७ जनाको ज्यान गएको थियो। त्यसपछि असोज २० गते इलाम नगरपालिका–१० का एक व्यक्तिको शव झापामा फेला परेको थियो। पछिल्लो घटनासँगै जिल्लामा मृत्यु हुनेको संख्या ३९ पुगेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।
त्यस्तै, इलाम नगरपालिका–६ का महेन्द्र लिम्बु अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। खोजी कार्य निरन्तर जारी रहेको र सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी राखेका छन्।
प्रतिक्रिया