सडक भत्किएपछि ठगी धन्दाः पैदलयात्रीसँग १०, मोटरसाइकलको सय रुपैयाँ असुली

मंगलबार, २१ असोज २०८२

सर्लाही । अविरल वर्षापछि आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी सडक भत्किएपछि तीन दिन बितिसक्दा पनि मर्मत नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् । 

शनिबार राति परेको भारी वर्षाका कारण सडकको झण्डै १५ मिटर भाग बगाएको छ । त्यहाँ बनेको करिब १० फिट गहिरो खाडलमा पानी भरिएपछि पैदलयात्रु र सवारी आवतजावत ठप्प भएको छ ।

त्यसपछि सोमबारदेखि गाउँका युवाहरूले बाँस र काठको सहायताले अस्थायी लच्का बनाएर आवागमन सहज गराउने प्रयास गरेका छन् ।

हाल सो लच्काबाट मोटरसाइकल, साइकल र पैदलयात्री मात्र पार हुन सक्ने व्यवस्था गरिएको छ । 

तर आवागमनका क्रममा पैदलयात्रीबाट १० रुपैयाँ र मोटरसाइकल चालकबाट एक सय रुपैयाँसम्म शुल्क असुलिँदै आएको छ । 

सदरमुकाम मलंगवा र भारतीय सीमावर्ती कयौँ गाउँलाई जोड्ने यो हुलाकी सडक बाढीले भत्किएपछि सम्पर्क विच्छेद भएको छ । यसले दैनिक यात्रु, विद्यार्थी र व्यापारीलाई ठूलो समस्या भएको छ ।

गाउँपालिका अध्यक्ष रुपेशकुमार यादवले जिल्ला प्रशासन र हुलाकी सडक आयोजनासँग मर्मतबारे निरन्तर समन्वय भइरहेको बताए । 

‘तत्कालीन रूपमा गाउँपालिकाले आवागमन सञ्चालनको प्रयास गरिरहेको छ,’ उनले भने, ‘स्थायी रूपमा सडक पुनर्निर्माणका लागि पहल भइरहेको छ ।’

सोमबार पालिका अध्यक्ष यादवसहित प्रदेशसभा सदस्य एवं पूर्वयातायात मन्त्री कौशल किशोर रायलगायतका नेताले सडकको अनुगमन गरेका थिए । सो क्रममा उनीहरूले सडक केही दिनमै बन्ने बताएका थिए ।

पालिका अध्यक्ष यादवले जिल्ला प्रशासन कार्यालय र सडक विभागको निर्णय पर्खेको र उनीहरुको निर्णय आउने बित्तिकै काम शुरु गरिने बताएका थिए । उनले यदि उनीहरूले नबनाए आफूले एक घण्टामै बनाउने बताएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार