काठमाडौँ । प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध र पयर्टन समितिले आज पशुपतिनाथ क्षेत्रको निरीक्षण तथा अनुगमन गरेको छ ।
सभापति राजकिशोर यादवको नेतृत्वमा पुगेको समितिका पदाधिकारीको टोलीले पशुपति क्षेत्र विकास कोष तथा मन्दिर क्षेत्रको समग्र अवस्थाबारे अवलोकन गरेको हो । सोे टोलीले मन्दिरका मुल पुजारी भट्टसँग पनि आवश्यक सल्लाह सुझावसहित छलफल गरेको थियो ।
अवलोकनमा सांसदहरु उदय शम्शेर राणा, एकनाथ ढकाल, प्रेम सुवाल, नारायणप्रकाश साउद, दामोदर पौडेल वैरागी लगायतको सहभागिता रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । निरीक्षण टोलीले मन्दिर परिसरका पूर्वाधार, व्यवस्थापन, स्वच्छता तथा पर्यटनमैत्री वातावरणका विषयमा गहिरो चासो राख्नुका साथै समितिका पदाधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीबीच छलफलसमेत भएको कोषका निमित्त सदस्य–सचिव शुभाषचन्द्र जोशीले जानकारी दिए ।
उनले भने, “समितिले पशुपति क्षेत्रमा विद्यमान समस्याका बारेमा प्रत्यक्ष जानकारी लिएको छ, पदाधिकारीले यहाँका समस्या अवलोकन गर्नुभयो र समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ ।”
छलफलका क्रमममा पशुपति क्षेत्र विकास कोषले कोषको विकास, धार्मिक पर्यटकको सुविधा, सुरक्षा व्यवस्थापन र पूर्वाधार सुदृढीकरणका विषयमा विशेष ध्यान दिनुपर्ने औँल्याइएको तथा यहाँका समस्याको समाधानका लागि राज्यका तर्फबाट थप सहयोग आवश्यक रहेको धारणा राखिएको थियो ।
निरीक्षण पश्चात् समितिले निकट भविष्यमा पशुपति क्षेत्रको सुधार तथा विकासका लागि आवश्यक निर्देशन र सिफारिस गर्ने प्रतिबद्धता जनाएको समितिका सभापति यादवले बताए ।
प्रतिक्रिया