चितवन : दसैँका अवसरमा राजधानी फर्कने यात्रुहरूबाट बढी भाडा लिएको गुनासोपछि चितवनको स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा असुल गर्ने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू सहभागी अनुगमन टोलीले नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारी क्षेत्रमा सडकमा सवारीसाधन जाँच गरी कारबाही गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार सो क्रममा बढी भाडा असुल गर्ने ६ जनालाई नियन्त्रणमा लिइएको छ। यात्रुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम उल्लेख गरी ठगी गर्नेहरूमाथि कारबाही गरिएको बताइएको छ। साथै, २५ वटा माइक्रोबसले उठाएको बढी भाडा यात्रुलाई फिर्ता गराइएको समेत उनले जानकारी दिइन्।
सिडिओ अर्यालका अनुसार चलानीबिना यात्रु लिएर हिँडेका र बढी भाडा असुल गर्ने चालकहरूलाई सचेत गराउने, फिर्ता गराउने तथा जरिवाना लगाउने काम गरिएको छ। अटेर गर्नेहरूमाथि कालोबजारी ऐनअन्तर्गत थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए।
दसैँका कारण काठमाडौँ फर्किने यात्रुको चाप अत्यधिक बढेपछि केही यातायात व्यवसायीहरूले अवसर पाएर यात्रुबाट मनपरी भाडा असुल्ने गरेको गुनासो आएको थियो। त्यसपछि प्रशासनले नियमित अनुगमन सुरु गरेको र यात्रुका गुनासो तत्काल सम्बोधन गरिने जनाएको छ।
प्रतिक्रिया