पाँचथर : मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा मोडुलर ब्रिज जडानको काम तीव्र गतिमा अघि बढाइएको छ। सडक डिभिजन इलाम र भारतबाट आएका प्राविधिकको टोलीले पुल जडान कार्यलाई सक्रिय रूपमा अघि बढाइरहेका छन्।
गत जेठ ३१ गते जडानकै क्रममा भाँचिएको मोडुलर ब्रिज अहिले पुनः निर्माण चरणमा पुगेको हो। फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमानामा पर्ने हेंवा खोलामा विगत तीन वर्षदेखि यातायातमा अवरोध हुँदै आएको छ।
हाल भारतबाट ल्याइएका लन्चिङ किट्स र २१ जना भारतीय प्राविधिकको सहयोगमा पुल जडान कार्य भइरहेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए। उनका अनुसार अघिल्लो पटक भाँचिदा झण्डै २० प्रतिशत सामग्री नष्ट भएको थियो। बाँकी सामग्री र नयाँ सामाग्री आइपुगेपछि जडानको काम सुरु गरिएको हो।
भारत सरकारद्वारा निःशुल्क उपलब्ध गराइएको ७० मिटर लम्बाइको यो मोडुलर ब्रिज जडानमा अहिले कम्तिमा १० दिन लाग्ने अनुमान गरिएको छ। हालसम्म नेपालमा जडान गरिएका मोडुलर पुलहरूमध्ये यो सबैभन्दा लामो र प्रविधिगत हिसाबले उत्कृष्ट मानिएको बताइएको छ।
पुल निर्माणका लागि दोभान सुपर सौगात लाइट बिल्डर्सले ३ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएको हो।
हेंवा खोलामा असार २, २०८० मा आएको बाढीले पक्की पुल बगाएपछि यस क्षेत्रमा यातायात अस्तव्यस्त बनेको थियो। संघीय सरकारले त्यसपछि २९ दिनमै बेलिब्रिज बनाएको थियो, तर त्यो पनि २०८१ असोज १२ मा पुनः बाढीले बगायो। त्यसपछि गत जेठ ३१ गते पुनः जडानको क्रममा मोडुलर ब्रिज भाँचिएको थियो।
हालैको प्रयास हेंवा खोलामा जडान भइरहेको तेस्रो पुल हो। डाइभर्सनबाट अस्थायी रूपमा सवारी सञ्चालन भइरहेको भए पनि बाढीका कारण यातायात बारम्बार अवरुद्ध हुनाले यात्रुहरूलाई निकै सास्ती व्यहोर्नु परेको छ। पुलको जडान पूरा भएसँगै पाँचथरको हिलिहाङ, याङवरक, फालेलुङ र सिंगो ताप्लेजुङ क्षेत्र सडक सञ्जालमा पुनः जोडिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया