इटहरी । कोशी प्रदेशका १४ जिल्लामध्ये ३ जिल्लाका ४ वटा गाउँपालिकामा केन्द्रीय सडक सञ्जाल पुगेको छैन ।
सडक सञ्जाल नपुग्दा कोशी प्रदेशका तीनवटा स्थानीय तहका बासिन्दा अझै खच्चड र भरियाले बोकेका सामग्रीमा निर्भर छन् ।
१० वटा स्थानीय तह रहेको संखुवासभाका भोटखोला र सिलिचोड गाउँपालिकामा सडक सञ्जाल पुगेको छैन ।
कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी भोटखोला गाउँपालिका हुँदै तिब्बत जोड्ने १ सय ६२ किलोमिटर सडकमध्ये १० किलोमिटर अझै खन्न बाँकी नै छ ।
खाँदबारी र सिलिचोड जोड्ने छब्बिसेमा पुल नबन्दा सिलिचोड गाउँपालिकामा सडक पुग्न नसकेको हो ।
झापाको केचनाकवलदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्मको सडक मेची राजमार्ग हो ।
पाथीभरा याङवरक, फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका छुने यो सडक अहिलेसम्म ओलाङचुङगोलासम्म पुगेकै छैन । सडक नपुग्दा सर्वसाधारणलाई असुविधा भइरहेको मनोज राईको भनाइ छ ।
सोलुखम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा सडकको पहुँच नपुग्दा दैनिक उपभोग्य वस्तु निकै महंगो पर्ने गरेको रबिन राईले बताए ।
यी गाउँपालिकाहरुमा कि हवाईमार्गबाट ढुवानी गर्नुपर्छ नभए भरिया र खच्चडको भर पर्नुपरेको छ ।
कोशी प्रदेश सरकारले सडक सञ्जाल नपुगेका यी स्थानीय तहमा नयाँ योजना ल्याएर सडक जोड्ने तयारी गरेको जनाएको छ ।
सरकारको हरेक स्थानीय तहमा सडक सञ्जाल पुर्याउने योजना पूरा हुन नहुँदा स्थानीयले नुन, तेललगायतका दैनिक उपभोग्य सामग्री महंगोमा किन्नु परिरहेको छ।
कोशी प्रदेशमा १ सय ३७ वटा स्थानीय तहमध्ये तीन जिल्लाका चार पालिकामा विकासका पूर्वाधार नहुँदा स्थानीय बासिन्दालाई असहज हुने गरेको छ ।
प्रतिक्रिया