विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई नयाँ ढंगले पुनर्जीवित गरेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । विराटनगरमा नेपाल बाल संगठनले आयोजना गरेको कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले बालबालिकाको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न यस्ता संस्थालाई क्रियाशील बनाउनु जरुरी रहेको बताए ।
उनका अनुसार नेपालमा संस्था खोल्ने तर त्यसलाई वास्ता नगर्ने प्रवृत्ति बढ्दो छ, जसका कारण थुप्रै सरकारी संरचनाहरू चलाउन नसक्ने अवस्था आएको छ । उनले भने, "संरचनाहरू छन् तर त्यसले परिणाम दिएको छैन । अब त्यस्ता संरचनालाई पुनर्संरचना गरी सक्रिय बनाउनुपर्छ र परिणाममुखी ढंगले अगाडि बढाउनुपर्छ।"
मुख्यमन्त्री कार्कीले बालबालिका हाम्रो भविष्य र सपना भएको उल्लेख गर्दै उनीहरूलाई असल संस्कार र समाजप्रति उत्तरदायी बनाउनेमा संगठनले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखे । उनले कोशी प्रदेशमा रहेको बाल संगठनको अवस्था, भौतिक संरचना र सम्पत्तिको विषयमा सामाजिक विकास मन्त्रालयलाई अध्ययन गरी यथार्थ विवरण ल्याउन निर्देशन दिए ।
त्यो विवरणको आधारमा प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । संघीय सरकारको हातेमालोबाट मात्रै प्रदेशमा बाल संगठनलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताउँदै उनले यसतर्फ संघीय सरकारले पनि आफ्नो कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल बाल संगठनकी केन्द्रीय अध्यक्ष विद्या न्यौपानेले हालको अवस्थाबारे विस्तृत जानकारी दिँदै संस्थालाई सुदृढ बनाउन सबै तहको सहकार्य आवश्यक रहेको धारणा राखिन् ।
प्रतिक्रिया