विराटनगर : कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सडक पुलसँगै रहेका र मानव उपयोगविहीन अवस्थामा रहेका झोलुङ्गे पुलहरुलाई स्थानान्तरण गर्ने तयारी पूरा भएको बताएका छन्।
मन्त्री राईका अनुसार, मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले तत्कालै प्रदेशका सबै स्थानीय तहहरूलाई यस्तो पुलहरूको विवरण पठाउन अनुरोध गरेका थिए।
प्रदेशभर २१ सयभन्दा बढी झोलुङ्गे पुलमध्ये सडक पुल नजिक रहेका ३४ वटा पुल स्थानान्तरण गर्नुपर्ने विवरण मन्त्रालयलाई प्राप्त भएको थियो।
स्थानीय सडक पुल सहयोग इकाइ मार्फत गरिएको स्थलगत अध्ययन प्रतिवेदनअनुसार, तीमध्ये २३ वटा पुल सार्न सकिने, १० वटा त्यही स्थानमा स्थानीय नागरिक र स्थानीय तहको निर्णयअनुसार उपयोग गर्न सकिने र १ वटा पुल तत्कालै हटाउनुपर्ने देखिएको छ।
मन्त्री राईले २३ पुल स्थानान्तरण गर्दा नयाँ पुल निर्माण गर्नुभन्दा करिब ४०% लागत बचत हुने तथ्याङ्क प्रस्तुत गरेका छन्।
उनले भने, “उपयोगविहीन पुलहरुलाई नजिकैको उचित स्थानमा सार्न सकियो भने ती पुनः प्रयोगमा आउने मात्र होइन, आर्थिक मितव्ययिताको दृष्टिले पनि लाभदायी हुन्छ।”
प्रतिवेदन तयार पार्न सहयोग पुर्याएकोमा उनले स्थानीय सडक पुल सहयोग इकाइलाई विशेष धन्यवाद दिएका छन्। अब केही प्राविधिक तयारी पूरा भएपछि पुल स्थानान्तरण कार्य सुरु हुने मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया