व्यवसायी दीपक भट्टको १० खर्ब अवैध सम्पत्ति जफतको मागसहित जेनजीले गर्यो अख्तियारमा उजुरी

सोमबार, २७ असोज २०८२

काठमाडौं : जेनजी अलायन्सले व्यवसायी दीपक भट्टविरुद्ध करिब १० खर्ब रुपैयाँ बराबरको अवैध सम्पत्ति जफत गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ।

अलायन्सका संयोजक प्रतिक्षा प्रतिरोध र सचिव सुमन अधिकारीद्वारा हस्ताक्षरित उजुरीमा भट्टले विगत दुई दशकदेखि नेपालको आर्थिक, प्रशासनिक र कानुनी प्रणालीको दुरुपयोग गर्दै राष्ट्रको स्रोतसाधन व्यक्तिगत स्वार्थमा प्रयोग गरेको आरोप लगाइएको छ।

उजुरीमा भट्टले वैदेशिक सहायता, ऊर्जा, ठेक्का, पेट्रोलियम आपूर्ति र अन्तर्राष्ट्रिय परियोजनासँग सम्बन्धित कारोबारमार्फत अवैध सम्पत्ति संकलन गर्दै आएको र ती सम्पत्तिहरू विभिन्न देशका बैंकमा लुकाएको दाबी गरिएको छ।

भट्टमाथि राज्यको ढुकुटी, प्राकृतिक स्रोत, सरकारी ठेक्का र आयात–निर्यात कारोबारमार्फत भ्रष्टाचार र कमिसनको जालो सञ्चालन गरेको आरोप पनि उजुरीमा समावेश छ।

अलायन्सले भट्टका सम्पूर्ण जग्गा–जमिन, घर, बैंक खाता, चल–अचल सम्पत्ति र विदेशी लगानीहरू तत्काल स्थगित गरी जफत गर्ने प्रक्रिया सुरु गर्न माग गरेको छ। उजुरीमा भनिएको छ,

“भट्टले वैदेशिक परियोजना, तेल आयात, औद्योगिक लगानी र सरकारी खरिद प्रक्रियामा राजनीतिक संरक्षणमार्फत अनियमित ढंगले सम्पत्ति जोडेका छन्, जसको स्रोत सार्वजनिक पार्न सक्ने अवस्था छैन।”

जेनजी अलायन्सका अनुसार भट्टजस्ता प्रभावशाली व्यवसायीहरूले राजनीतिक दल, सरकारी निकाय र ठेक्का प्रणालीलाई नियन्त्रणमा लिएर करोडौंको नाफा कमाउने प्रवृत्ति संस्थागत भएको छ, जसले देशमा आर्थिक असमानता बढाइरहेको छ।

उजुरीमा उल्लेख छ,

“राज्य र जनताको सम्पत्ति गैरकानूनी रूपमा कब्जा गर्नेहरूबाट फिर्ता नलिएसम्म सुशासन र पारदर्शिता सम्भव छैन।”

यसबीच, अख्तियारका स्रोतका अनुसार उजुरी दर्ता भइसकेको र आयोगले त्यसमा उल्लेख गरिएका सम्पत्ति, कम्पनी र लेनदेनका विवरणहरूको प्रारम्भिक अध्ययन सुरु गर्ने तयारी गरेको छ। प्रारम्भिक चरणमा आयोगले भट्टका देश–विदेशका लगानी, बैंक खाता र कारोबार विवरणको ट्रेसिङ गर्ने बताइएको छ।

हेर्नुहोस् उजुरी –

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार