इलाममा धुमधामका साथ निकालियो रोपाइँजात्रा

विहीबार, २९ साउन २०८२

इलाम :  इलाम बजारमा बिहिबार रोपाई जात्रा निकलिएको छ । । नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा जनैपूर्णिमापछि लाग्ने बिहीबार हटियाको अवसरमा पञ्चैबाजाको तालमा संगीतमय रोपाइँको अभिनयसहित करिब पाँच सय कलाकारको सहभागितामा जात्रा निकालिएको हो। कलाकारहरूले खेत जोत्न गोरु हल्ल्ने, बाउसेले बीउ रोप्ने र रोपाहारले धान रोप्ने दृश्यको अभिनय गर्दै बजार परिक्रमा गरे। जात्रामा सहभागी कलाकार र दर्शकको भीडले इलाम बजार दिनभरै सांस्कृतिक उत्सवमा रंगिएको थियो।

परम्परागत रूपमा यो जात्रा जनैपूर्णिमापछि हटिया लाग्ने बिहीबार निकाल्ने प्रचलन छ। आयोजक समाजका अध्यक्ष प्रविन श्रेष्ठका अनुसार वास्तविक किसानले पनि हटियाको दिन बजारमा आएर जात्रा अवलोकन गर्ने र बर्खामा गरेको कठिन मेहनतपछि केही समय रमाइलो गरेर थकान मेट्ने अवसर पाउने गर्छन्। यसले गाउँ र शहरबीचको सांस्कृतिक सम्बन्धलाई पनि बलियो बनाउने गरेको छ।

यसैबीच, बुधबार देउमाई नगरपालिकाको मंगलबरेमा पनि ५० वर्षभन्दा लामो इतिहास बोकेको रोपाइँजात्रा भव्य रूपमा सम्पन्न भयो। यो जात्रा प्रारम्भमा विद्यालयको अवस्था नाजुक रहँदा शिक्षकको तलब र शैक्षिक खर्च जुटाउन सुरु गरिएको भए पनि अहिले यो स्थानीयको गौरवपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनालले बताए। माओवादी द्वन्द्व र कोभिड महामारीका कारण दुई वर्ष रोकिएको यो जात्रामा यस वर्ष पुनः आन्तरिक पर्यटकहरूको उल्लेख्य भीड देखियो।

मंगलबरेमा निकालिएको जात्रामा विद्यार्थी, शिक्षक र स्थानीय कलाकारले रोपाहार, बाउसे, साधु, जोगी, मुङ्ग्रे लगायतका विविध पात्रको अभिनय प्रस्तुत गरे। संगिनी, बालन लगायतका परम्परागत सांस्कृतिक प्रस्तुति, मौलिक पोशाक र जातीय झाँकीहरूले बजारको वातावरणलाई अझै रंगीन बनायो। गोरु हली र बाउसे अघि, त्यसपछि रोपाहारको अभिनय गर्दै धान रोप्ने दृश्यले दर्शकलाई बर्खाको वास्तविक खेत–खल्तीको अनुभव दिलायो।

देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, इलाम नगरपालिका लगायत आसपासका क्षेत्रबाट आएको दर्शकको भीडका कारण मंगलबरे बजार दिनभरै चहलपहलयुक्त बन्यो। यसका साथै, इलामको माइजोगमाई गाउँपालिकाको नामसालिङ, देउमाईकै जितपुर र माई नगरपालिकाको शुक्रबारे बजारमा पनि यस वर्ष रोपाइँजात्रा धुमधामका साथ मनाइएको छ।

यो पर्वले किसानको जीवनशैली, कृषि संस्कार र स्थानीय पहिचानलाई जोगाउँदै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान दिइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार