रसुवा बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

शुक्रबार, ३० साउन २०८२

रसुवा : रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवामा भएको बस दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौं पठाइएको छ । दुर्घटनामा २० जना घाइते भएका थिए । 

त्यसमध्ये अवस्था गम्भीर भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको त्रिशूली अस्पतालका निमित्त निर्देशक सन्देशराज उपाध्यायले जानकारी दिए । उनका अनुसार बाँकी १४ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

घाइते भएकामध्ये अधिकांशको टाउको, छाती, हात र खुट्टामा चोट लागेको छ । तीमध्ये अवस्था सामान्य रहेका पाँच जनालाई घर पठाइने र बाँकीलाई भर्ना गरिने उपाध्यायले जानकारी दिए । 
 
रसुवाको गत्लाङबाट काठमाडौं जाँदै गरेको बा४ख ८४३५ नम्बरको बस हिजो अपराह्न लहरेपौवामा दुर्घटना भएको रसुवा प्रहरीले जनाएको छ । ओरालो र घुम्ती सडक तथा पानी परिरहेको समयमा गति तीव्र भएकाले बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।

दुर्घटनापश्चात सडकबाट ३० मिटर तल पुगेको बस लहरेपौवास्थित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको घरको आडमा पुगेर अडिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार