सर्लाहीमा शिक्षकको हत्या : एक वर्षअघि श्रीमतीको हत्याका फरार अभियुक्त पुन अपराधमा संलग्न

सोमबार, ०२ भदौ २०८२

सर्लाही : सर्लाहीको हरिपूर्वा नगरपालिका ६ का शिक्षक रामपुकार यादवको हत्या भएको प्रहरीले पुष्टि गरेको छ। हत्याका मुख्य योजनाकार धिरेन्द्र राय रहेका छन्, जो एक वर्ष अघि आफ्नै श्रीमतीको हत्या र बुवालाई घाइते पारेर फरार भएका थिए।

सर्लाही प्रहरीले जानकारी दिएको अनुसार, शुक्रवार राति साढे ८ बजे धिरेन्द्रले बी.आर. ३० ए.जी २३५४ नम्बरको अपाचे मोटरसाइकलमा पछाडि सवार व्यक्तिसँगै शिक्षक रामपुकारको टाउकोमा गोली हानेर फरार भएका थिए। रामपुकारलाई उपचारका लागि महोत्तरीको जानकी एकेडेमिक हस्पिटल लगिँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

गोलि प्रहार पछि फरार हुने क्रममा धिरेन्द्रको मोटरसाइकल वसन्तपुर–बाँके–सङ्ग्रामपुर सडक खण्डमा दुर्घटना भएको थियो। घाइते भएका धिरेन्द्रलाई सर्लाहीको मोडेल अस्पतालमा प्राथमिक उपचार दिइएपछि जनकपुर प्रादेशिक अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो। शनिबारेदेखि प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार, धिरेन्द्र आफ्नै श्रीमती चित्रलेखा कुमारी यादवलाई १० असोज २०८१ मा गोली हानी हत्या गरेका थिए। सोही घटनामा बुवा राम दिनेश राय घाइते भएका थिए र १४ असोज २०८१ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कर्तव्य ज्यानको जाहेरी दिएका थिए।

प्रारम्भिक अनुसन्धानमा खुलेको छ कि धिरेन्द्र र मृतक शिक्षक रामपुकारका छोरा सुमितबिच केही विवाद भएको थियो, जसलाई लिएर धिरेन्द्रले हत्या योजना बनाएको प्रहरीले जनाएको छ।

घटनामा प्रयोग भएको हतियार, पेस्तोल र गोलीका खोका बरामद भइसकेका छन् भने धिरेन्द्रसँगै मोटरसाइकलमा सवार व्यक्ति अझै फरार छन्।

सर्लाही प्रहरीले धिरेन्द्रलाई कर्तव्य ज्यानको मुद्दामा ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार