रियल मड्रिड स्टार हाजार्डले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

बुधबार, २१ मंसिर २०७९
बेल्जियमका मिडफिल्डर इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेल्जियन पत्रिका हेट लास्टेका निउजका अनुसार ३१ वर्षका हाजार्डले विश्वकप समूह चरणमा क्रोएसियासँगको खेल लगत्तै सन्यास लिनेबारे राष्ट्रिय टिमका साथीहरुसँग कुराकानी गरेका थिए । समुह चरणको पहिलो खेलमा क्यानडालाई पराजित गर्दै विश्वकपको शुखद सुरुवात गरेको बेल्जियम दोस्रो खेलमा मोरक्कोसँग पराजित भएको थियो । समुह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोल रहित बराबरी खेलेपछि बेल्जियम समुह चरणबाट नै घर फर्किएको थियो । ‘म जीवनको एक पन्ना पल्टाउँदैछु । तपाईँहरुको मायाका लागि धन्यवाद,’ उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईंहरुको अद्वितीय समर्थनका लागि धन्यवाद । सन् २००८ यता हामीले बाँडेका सबै आनन्ददायी क्षणका लागि धन्यवाद । म आज अन्तर्राष्ट्रिय फुटबलरका रुपमा करिअर अन्त्य गर्दैछु । अर्को पुस्ता तयार भइसकेको छ ।’ बेल्जियनको स्वर्ण पुस्ताका प्रमुख सदस्यका रुपमा हाजार्डले सन् २००८ नोभेम्बर १९ मा लक्जेवर्गसँगको खेलमा १७ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । कतार विश्वकपपछि बेल्जियन टोलीबाट विश्राम लिने निर्णय गरेका उनले बेल्जियमका लागि १२६ अन्तर्राष्ट्रिय क्याप जितेका छन् । उनले बेल्जियमका लागि ३३ गोल र ३६ असिस्ट गरेका छन् । इंग्लिस क्लब चेल्सीमा रहदा उत्कृष्ट खेल प्रस्तुत गरेका हाजार्ड अहिले स्पेनिस महारथी रियल मड्रिडमा अनुबन्धित छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार