झापा : झापाको भद्रपुर नगरपालिका–१० शत्र बिगेमा आफ्नै हजुरआमामाथि खुकुरी प्रहार गरी फरार रहेका नाति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा त्यही ठाउँका २७ वर्षीय महेश सुबेदी रहेका छन् । उनले गत असार १२ गते बिहान करिब ५ बजे ७२ वर्षीया हजुरआमा खिनमाया सुबेदीलाई पैसा नदिएको आक्रोशमा धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घटनापछि उनी फरार भएका थिए ।
घटनाबारे खोजतलासकै क्रममा प्रहरीले सोमबार साँझ करिब ५ः३० बजे भद्रपुर–१० स्थित शत्र बिगेबाटै सुबेदीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टोलीको नेतृत्व प्रहरी निरीक्षक विजय चौहानले गरेका थिए ।
प्रहरीका अनुसार घाइते खिनमाया एक्लै बस्ने गरेकी थिइन् । आरोपित महेश सुबेदीविरुद्ध यसअघि नै ज्यान मार्ने उद्योग मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भइसकेको थियो ।
सुबेदीलाई मंगलबार (भदौ १०) अनुसन्धानको म्याद थप गर्न जिल्ला अदालत झापामा पेश गरिने प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया