दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको हत्यामा संलग्न तीनै जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दैलेख जिल्ला अदालतले दिएको छ।
न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले मङ्गलवार सुनुवाइ गर्दै आरोपित सुरेन्द्रकी प्रेमिका महाबु गाउँपालिका–५ काँशिकाँधकी २७ वर्षीया गङ्गा बन, उनका बुबा ६३ वर्षीय नैने बन र ५६ वर्षीया आमा भक्कु बनलाई थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउने आदेश दिएको हो।
जिल्ला अदालत दैलेखका श्रेस्तेदार उपसचिव वीरेन्द्रबहादुर मल्लका अनुसार प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनपछि सरकारी वकिल कार्यालयले आइतबार ‘कर्तव्य ज्यान’ सम्बन्धी मुद्दा दर्ता गरेको थियो।
यसअघि जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपाने र प्रतिरक्षा अधिवक्ता ललितबहादुर थापाबिच बहस भएको थियो। बहसपछि अदालतले तीनै अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश जारी गरेको हो।
यसरी भयो हत्या
गङ्गा र सुरेन्द्र नेपालको बिचको आर्थिक लेनदेन र व्यक्तिगत झगडाका कारण घातक घटना घटेको प्रहरीले जनाएको छ।
सुरेन्द्रले आर्थिक लाभ लिएपछि गङ्गा अचानक टाढिन थालिन्। यस क्रममा गङ्गाले सुरेन्द्रलाई फेसबुकमा अनफ्रेन्ड गर्दै फोन नम्बर पनि ब्लक गरेकी थिइन्।
तर, नेपाल फर्किएको सुरेन्द्रले साउन २ गते गङ्गाको नम्बर पत्ता लगाउँदै उनलाई र उनका बाबुआमासँग सम्पर्क गरे। त्यसपछि गङ्गाले सुरेन्द्रलाई महाबु गाउँपालिका-४ र ५ को सीमामा पर्ने छामघाट खोलामाथिको झोलुङ्गे पुलमा भेट्न बोलाइन्।
प्रहरीका अनुसार, त्यहाँ पुग्ने बित्तिकै दुबैबिच झगडा सुरु भयो र सुरेन्द्रलाई पुलबाट धकेलिएको थियो।
प्रहरी प्रमुख बरालका अनुसार, “हत्या गर्ने दिनसम्म सुरेन्द्र तीनै जनासँग नियमित सम्पर्कमा थिए।
गङ्गाका बाबुआमाले ‘तपाईँसँग विवाह गरिदिन्छौँ’ भन्दै साउन १० गते बोलाएपछि सुरेन्द्र गएका रहेछन्। त्यही दिन उनीलाई काँसीकाँधको काप्रिखोलामा रहेको झोलुङ्गे पुलबाट धकेलिएको गङ्गाले बयान दिएकी छन्।”
घटनाको दिन खोलामा पानी धेरै भएकाले सुरेन्द्रको शव बगाएर दुल्लु नगरपालिका-११, कायलकुना पुर्याएको प्रहरी अनुमान छ। सुरेन्द्रलाई मार्ने योजना साउन ६ गते नै बनाइएको देखिएको छ।
प्रतिक्रिया