रौतहट : रौतहटको चर्चित सुटकेस हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।
शनिबारदेखि बेपत्ता भएकी माधवनारायण नगरपालिका–१ की रुबी साहको शव सुटकेसभित्र फेला परेपछि अनुसन्धानमा संलग्न प्रहरीले उनलाई प्रमुख आरोपितका रूपमा पहिचान गरेको थियो।
पासवान आज बिहान आत्मदाह प्रयासपछि गम्भीर घाइते अवस्थामा फेला परेका थिए। माधवनारायण नगरपालिका–६ स्थित नहर नजिक पेट्रोल छर्केर आगो लगाएका उनी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दले जानकारी दिनुभयो।
गत शनिबार गौर बजार जान भन्दै डेराबाट निस्किएकी २४ वर्षीया रुबी साहको शव पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा सुटकेसभित्र फेला परेको थियो।
यस प्रकरणमा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया